रत्ननगर, २८ मंसिर । चितवनको कालिका वडा नं. ६ मा व्यवसायिक रुपमा मौरीपालन गर्दै आएका किसानहरुलाई मौरी जन्य सामाग्री वितरण गरिएको हो । मौरी पालक किसानको लागत घटाउँदै धेरै मुनाफा लिनसक्ने र आर्थिक अभिवृद्धि गर्ने उद्देश्यले वडा नं. ६ को आयोजनामा बिहीवार मौरीको मह राख्ने बाल्टी र बट्टा वितरण गरिएको हो । वडाको २ लाख ५० हजारको बजेटबाट १ देखि ४ सय ८० घार सम्म मौरीपालन गर्ने ३२ जना किसानहरुलाई सामाग्रीहरु वितरण गरिएको वडा अध्यक्ष टिकाराम रेग्मीले जानकारी दिनुभयो । मह राख्ने बाल्टी ४ सय ८५ थान र बट्टा २ हजार ९ सय ७० थान सामाग्रीहरू मौरी पालक किसानलाई हस्तान्तरण गरिएको उहँले बताउनुभयो ।
वडा अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा कालिकाका नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेग्मीले व्यवसायीक रूपमा मौरी पालनलाई प्रोत्साहन गरी आर्थिक विकासमा सहयोग पुगोस् भनेर सामाग्री वितरण गरिएको बताउनुभयो । कालिकाका हरेक कृषकहरु एकदमै मेहनती र जागरिला भएकाले अर्काको टिका टिप्पणी गर्न फुर्सद नभएको बताउनुभयो । किसानहरुले उत्पादन गरेका महहरुको बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘किसानले उत्पादन गरेका महको गुणस्तर, उत्पादन मिति, एकद्धार प्रणालीबाट मूल्य निर्धारण हुनुपर्छ, तबमात्रै किसानहरुले सोचेको भन्दा मूल्य पाउनेछौं ।’ आगामी दिनहरुमा नगरपालिकाका हरेक वडाहरुमा व्यापक रुपमा कृषकहरुलाई प्रोत्साहन हुने किसिमका कार्यक्रमहरु ल्याउदै जाने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा कृषि शाखा अधिकृत लक्ष्मण पोखरेल, नेपाल मौरीपालन महासंघका निवर्तमान अध्यक्ष टिका शर्मा पौडेल, नेपाल मौरीपालन महासंघ बागमती प्रदेशका महासचिव गंगा प्रसाद बासकोटा लगाएतले मन्तव्य राख्नुभएको थियो । कार्यपालिका सदस्य सम्झना परियार, कालिका वडा नं.६ का वडा सदस्य दुर्गा सुवेदी, प्रकाश तामाङ, कार्यक्रम संयोजक रवि अधिकारी लगायतको उपस्थिति रहेको कार्यक्रममा वडा सदस्य लक्ष्मी नारायण चौलागाईले स्वगत मन्तव्य राखेका थिए भने वडाका सचिव संजिव अर्यालले कार्यक्रम संचालन गर्नुभएको थियो ।वडाले सामाग्री वितरण गरेपछि मौरीपालक किसानले खुसी व्यक्त गरेका थिए । मौरी पालन व्यवसायलाई थप प्रवर्द्धन गर्न वडाको सहयोगले टेवा पुग्ने किसानको भनाइ छ ।


प्रतिक्रिया