मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एशिया कप सुपर फोरमा बंगलादेशको रोमाञ्चक जित

एशिया कप सुपर फोरमा बंगलादेशको रोमाञ्चक जित

न्यूजस्टोरी

काठमाडौं, ५ असोज । एशिया कप सुपर फोर अन्तर्गतको रोचक खेलमा बंगलादेशले श्रीलंकामाथि चार विकेटको नाटकीय जित हात पारेको छ । श्रीलंकाले दिएको १६९ रनको लक्ष्य बंगलादेशले एक बल बाँकी रहँदा ६ विकेटको क्षतिमा पूरा गरेको हो । अन्तिम ओभरमा दुई विकेट गुमाए पनि बंगलादेशले धैर्य प्रदर्शन गर्दै आवश्यक एक रन जोड्दै विजय हासिल गरेको छ ।

यस जितसँगै बंगलादेशले सुपर फोरमा महत्त्वपूर्ण अंक जोडेको छ भने श्रीलंकाको यात्रा भने थप कठिन बनेको छ ।

सुरुमा ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । कप्तान दासुन शानाकाले उत्कृष्ट प्रदर्शन गर्दै ३७ बलमा ६४ रनको नटआउट अर्धशतक प्रहार गरे । तर अन्य ब्याट्सम्यानहरूबाट उल्लेख्य योगदान नआएपछि श्रीलंकाले ठूलो स्कोर बनाउन सकेन ।

बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमान घातक बने । उनले चार ओभरमा मात्र २० रन खर्चेर तीन विकेट लिएका थिए । साथै माहीदी हसनले पनि दुई विकेट हात पारे ।

१६९ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको बंगलादेशका लागि सैफ हसन र तौहिद हृदयोले शानदार अर्धशतक बनाए । हसनले ४५ बलमा ६१ रन प्रहार गरे भने हृदयोलाई रोक्न श्रीलंकाली बलर असफल भए, उनले ३७ बलमा ५८ रन जोडे । लिटन दासले पनि २३ रनको योगदान दिए ।

यो जितसँगै बंगलादेशले सुपर फोरमा आफ्नो अभियानलाई बलियो बनाएको छ भने श्रीलंकाले अब पाकिस्तान र भारतजस्ता शक्तिशाली टिमसँग खेल्नुपर्ने भएकाले दबाब झनै बढेको छ ।

सुपर फोर अन्तर्गत आज राति भारत र पाकिस्तानबीच बहुप्रतिक्षित भिडन्त हुने तय भएको छ ।