मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलो राष्ट्रिय कोबुदो विशेष किहोन सेमिनार इटहरीमा भव्य रुपमा सम्पन्न

पहिलो राष्ट्रिय कोबुदो विशेष किहोन सेमिनार इटहरीमा भव्य रुपमा सम्पन्न

न्यूजस्टोरी

इटहरी, साउन ११ । ऐतिहासिक र पहिलोपटक आयोजना गरिएको राष्ट्रिय कोबुदो विशेष किहोन सेमिनार इटहरीमा दुई दिनसम्म भव्य रुपमा सम्पन्न भएको छ। ‘शान्ति, मित्रता र एकता’ भन्ने मूल मन्त्रका साथ आयोजना गरिएको उक्त सेमिनारमा देशभरबाट आएका प्रशिक्षक तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त सेमिनारमा ध्यचमि World Grandmaster Gibo Giyu (गिवो गियु) को विशेष उपस्थितिमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो। गिवो गियुसँगै गिवो केन्तो लगायतका १२ जना वरिष्ठ प्रशिक्षकहरूले विभिन्न विधाका कोबुदो कला र तालिमहरू प्रदर्शन गरेका थिए। खेलाडीहरूले सीप प्रदर्शन गर्नुका साथै कोबुदो मार्फत आत्मानुशासन, संस्कृति र मित्रताको सन्देश दिन खोजिएको आयोजकहरूको भनाइ छ।

कार्यक्रमको सञ्चालन गणेश कटवालले गरेका थिए भने सभापतित्व मदन कुमार उप्रेतीले गरेका थिए। सेमिनारको प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मत कुमार कार्की रहेका थिए। उनले उद्घाटन मन्तव्य दिँदै भने, “नेपालमा खेलाडीहरूले आफ्नो तर्फबाट अथाह प्रयास गरे पनि राज्यको तर्फबाट पर्याप्त सहयोग गर्न सकिएको छैन। अब कोशी प्रदेशले खेलकुद विकासका लागि विशेष कार्यक्रम तयार गरेर पहलकदमी लिनेछ।”

कार्यक्रममा जापानका वरिष्ठ ग्रान्ड मास्टर गिबो गियुले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धमा करातेले महत्वपूर्ण भूमिका खेलेको बताउँदै भने, “करातेमार्फत दुई राष्ट्रबीचको सम्बन्ध अझ मजबुत बनिरहेको छ, यसलाई अझ सशक्त बनाउने प्रयास निरन्तर गरिनेछ।”

सेमिनारमा सहभागी प्रशिक्षक, खेलाडी तथा अवलोकनकर्ताहरूले यस्तो राष्ट्रियस्तरको कार्यक्रमले नेपाली कराते तथा कोबुदो खेलमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार यसले खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय सञ्जाल निर्माण, अनुशासन र आत्मरक्षा सम्बन्धी सीपमा अझ सुदृढता ल्याउनेछ।

सेमिनारको समापन अवसरमा सहभागी प्रशिक्षक र खेलाडीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षकहरूलाई सम्मान समेत गरिएको थियो। आयोजकहरूले आगामी दिनमा अझ विस्तारित र स्तरीय कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।