चितवन, ८ साउन । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति चितवनले आर्थिक अनियमितता गरेको भन्दै बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयले छानविनको प्रक्रिया अगाडी बढाएको छ । मन्त्रालयले गत शुक्रबार चितवन जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गर्दै तेक्वान्दो संघका अध्यक्ष गोपाल श्रेष्ठलाई तीन दिनभित्र आवश्यक कागजातसहित उपस्थित गराइदिन आग्रह गरेको पाइएको छ ।
तेक्वान्दो संघले तोकेको ३ हजार ५०० रुपैयाँभन्दा बढी रकम ६ हजार रुपैयाँसम्म ग्रेडिङ शुल्क वापत लिने गरेको र कानूनी रुपमा स्वीकृत ग्रेडिङ गरेपछि पनि अनाधिकृत रुपमा थप २ हजार ५०० माग गर्ने गरेको उजुरीको आधारमा मन्त्रालयले छानविन सुरु गरेको हो । त्यस्तै संघका विरुद्धमा खुल्ला प्रतिस्पर्धा बिना पहुँच भएका व्यक्तिलाई मात्र प्रशिक्षक नियुक्त गरेको तथा संघको उपाध्यक्ष, कोषाध्यक्ष र सचिव जस्ता पदहरुमा वर्षौदेखि एउटै व्यक्ति रहँदा नयाँ व्यक्तिहरुको बाटो अवरुद्ध गरिएको भनि उजुरी परेको थियो । मन्त्रालयले सोही उजुरीलाई आधारमानि नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष गोपाल श्रेष्ठमाथि छानविन गर्न लागेको हो ।
मन्त्रालयले पदाधिकारीहरु, प्रशिक्षकहरुको नियुक्ति र पछिल्लो तीन वर्ष देखिको ग्रेडिङ भएका खेलाडीहरुको संख्या, ग्रेडिङ वापत उठाइएको शुल्कको बिल भरपाई र शुल्क जम्मा गरेको बैंक भौचरहरुसहित उपस्थित हुनु भनेको छ । त्यस्तै पछिल्लो तीन आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदनपनि माग गरेको छ ।
मन्त्रालयको पत्र आएपछि चितवन जिल्ला खेलकुद विकास समितिले नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमितिले तेक्वान्दो संघका अध्यक्ष श्रेष्ठलाई पत्राचार गर्दै साउन ४ गते हेटौँडास्थित युवा तथा खेलकुद मन्त्रालयमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको थियो । स्रोतका अनुसार अध्यक्ष श्रेष्ठ मन्त्रालय गएका थिए । उनी र संघमाथि छानविन चलिरहेको बताइएको छ ।


प्रतिक्रिया