मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको रोमाञ्चक जित

नेपालको रोमाञ्चक जित

न्यूजस्टोरी

नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध टी–२० त्रिकोणात्मक सिरिजमा रोमाञ्चक जित हासिल गरेको छ।

मंगलबार सम्पन्न खेलमा नेपाल २ विकेटले विजयी भएको हो। योसँगै सिरिजमा स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सले समान २ अंक पुर्‍याएका छन्। नेटरनरेटमा स्कटल्यान्ड शीर्ष र नेपाल दोस्रो स्थानमा छ।

स्कटल्यान्डले दिएको ९८ रनको सामान्य लक्ष्य पूरा गर्न नेपाललाई १९।५ ओभरसम्म कुर्नुपर्‍यो। अन्तिम ओभरमा नेपाललाई जितका लागि ४ रन चाहिएको थियो।

सफायान शरिफको सुरुआती ३ बलमा करणले २ र किरण ठगुन्नाले १ रन लिए। तर, चौथो बलमा किरण क्याच आउट भए। योसँगै खेल पुनस् सुपर ओभरतर्फ जाने देखिएको थियो। तर, पाँचौं बलमा सन्दीप लामिछानेले १ रन लिँदै नेपाललाई पहिलो जित दिलाए।

नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए। ३५ बल खेलेका उनले ४ चौका प्रहार गरे।

दीपेन्द्रसिंह ऐरीले २१ बलमा १४ रन बनाए। बसीर अहमद १३ र किरण १० रनमा पभिलियन फर्किए। स्कटल्यान्डका शरिफ र माइकल लीस्कले समान २ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले १९।४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको हो। स्कटल्यान्डका लीस्कले सर्वाधिक ४६ रन बनाए। ४६ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे।

म्याथ्यु क्रस १५ र ब्रान्डन म्याकमुलनले १० रन बनाए। अन्यले भने प्रभावकारी इनिङ्स खेल्न सकेनन्। नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १ मेडनसहित ११ रन खर्चिए।

दीपेन्द्रसिंह ऐरी र करण केसीले समान २ विकेट थपे। एक विकेट ललितनारायण राजवंशीको नाममा रह्यो।