काठमाडौं । अवैध सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ परेका छन् ।
मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ का मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्गा नगरपालिका–५ का २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ का ३७ वर्षीय ज्याउदिन मियालाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ । चार जनालाई दुई फरक–फरक घटनामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम सुनको सिक्रि, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लोसहित कोइराला र आलमलाई पक्राउ गरिएको हो । कतार एयरको उडानद्वारा नेपाल आएका कोइरालाले भन्सार छली ल्याएको सुन आलमलाई दिने क्रममा विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी ५० ग्राम सुनको सिक्रिसहित अरमान र मियालाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरको उडानद्वारा दोहाबाट नेपाल आएका ज्याउदिनले भन्सार छली ल्याएको सुनको सिक्रि अरमानलाई दिने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएकाहरूलाई प्रहरीले भन्सारको जिम्मा लगाउने तयारी गरेको बताएको छ ।


प्रतिक्रिया