मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर नेपाली महिला टोली कालापत्थर प्रस्थान

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर नेपाली महिला टोली कालापत्थर प्रस्थान

न्यूजस्टोरी


काठमाडौं, १७ फागुन । जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थरतर्फ प्रस्थान गरेको छ ।

जलवायु परिवर्तन तथा महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था साथसाथैले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउने भएको हो ।

विभिन्न क्षेत्रमा अग्रणी भूमिकाका रहेका २५ जना महिलाको टोली आज बिहान काठमाण्डौबाट प्रस्थान गरेको हो । उनीहरुलाई यूएन वुमनका नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज–पचेकोले अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा बिदाइ गर्नुभयो ।

जलवायु परिवर्तनले सगरमाथा क्षेत्रमा पारेको असर र हिमाली समुदायले सामना गर्नुपरेका चुनौतीका विषयमा राष्ट्रिय–अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउन समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाको समूहले लुक्लाबाट कालापत्थरसम्म पदयात्रा गर्न लागेको हो ।

८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने क्रममा कालापत्थरतर्फ गएको महिला टोलीले पर्सि स्याङ्बोचेमा ‘जलवायु न्यायका लागि सरकार र समुदायलाई जोड्न महिला सशक्तीकरण’ भन्ने नारासहित स्थानीय जनप्रतिनिधि र स्थानीय समुदायसँग अन्तरक्रिया कार्यक्रम गर्ने छ ।

स्याङबोचेमा कार्यक्रमपछि पदयात्रा गर्दै ८ मार्चमा कालापत्थरमा पुगेर राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायलाई हिमाल पग्लिँदा समुदायमा परेको असर, कृषि र पर्यटन क्षेत्रमा परेको मारलगायतका विषयमा ध्यानाकर्षण गराउने कार्यक्रम छ।

यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि सोलुखुम्बुको स्याङवोचेमा पुगेर हिमाल पग्लिरहेको विषयप्रति विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो । संयुक्त राष्ट्रसङ्घले ‘इन्भेस्ट इन वुमन स् एक्सलेरेट प्रोग्रेस’ अर्थात ‘गतिशील प्रगतिका लागि महिलामा लगानी’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस २०२४ मनाइरहेको छ ।

अन्तिम अपडेटस् फागुन १७, २०८०