मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्साको पहिलो सदरमुकाम अलौंमा विकास निमार्णले गति लिदै

पर्साको पहिलो सदरमुकाम अलौंमा विकास निमार्णले गति लिदै

न्यूजस्टोरी

वीरगंज, ६ फागुन । पर्सा जिल्लाको पहिलो सदरमुकाम अलौं अहिले वीरगंज महानगरपालिका वडा नं १७ मा पर्छ । अलौं ऐतिहासिक ठाउँ र महानगरपालिका अन्तर्गत पर्ने भएपनि भौतिक संरचना विकासको दृष्टिकोणले हेर्ने हो भने अहिले पनि ग्रामीण भेगकै वडाजस्तै नै देखिन्छ । वीरगंज, महानगरपालिका हुने क्रममा अलौं गाभिएर वडा नं १७ भएपनि यहाँ विकासले गति लिएको थिएन । स्थानीय तहको दोस्रो निर्वाचनपछि यस वडामा भौतिक संरचनाको विकासले गति विस्तारै गति लिन थालेको छ ।
२०७९ को दोस्रो स्थानीय तहको चुनावपछि वीरगंज महानगरपालिकाले यो वडाको विकासका लागि लाखौं बजेट विनियोजन गरेको छ । वडामा एमालेबाट निर्वाचित वडाध्यक्ष सञ्जीवबहादुर छतकुलीले यस क्षेत्रको समग्र समिद्धिका लागि वीरगंज महानगरको बजेटमा मात्र भर नपरी प्रदेश सरकार र प्रदेश सांसदहरूबाट पनि बजेट माग गरेको जानकारी गराउनुभयो ।
पछिल्लो दुई आर्थिक बर्षमा वडामा स्थानीय तह र प्रदेश सरकारबाट झन्डै १२ करोड रकम बजेट ल्याएर विकास निर्माणका काममा जुटेको छतकुलीको दावी छ ।

अलौंका मुख्य सडकलाई कालोपत्र गर्ने योजनालाई प्राथमिक चरणमा राखेको छतकुलीको भनाई छ । सडक कालोपत्रे पछि मात्रै अन्य विकास निर्माणका योजनाहरू अगाडि बढाउने उहाँको भनाई छ ।
अलौंमा निकै प्रदूषित सडकको रूपमा सिवान टोलादेखि आइसिपी सडकको पर्खाल हुँदै आइसिपी गेटसम्म आउने सडकलाई लिइन्थ्यो । अहिले यो सडक पनि कालेपत्रे हुँदै गर्दा मुहार फेरिन थालेको छ ।

करीब १५ सय मिटर लम्बाइको यो सडकमा माटो पुर्ने र नाला निर्माणको काम तिब्र गतिमा अघि बढिरहेको छ । असार मसान्त भित्रै सडक कालोपत्र गर्ने लक्ष्य रहेको छ ।
त्यसैगरी, पदमरोड–अलौंचोकदेखि अलौं हुँदै नेरा आधारभूत विद्यालय सिवानटोला सीमा क्षेत्रसम्मको १५ सय मिटर लम्बाइको सडक पनि कालोपत्र गर्ने योजना छ । यो सडकका कुनैकुनै ठाउँमा कालोपत्रे रहेको तर, त्यसलाई पनि मर्मत गर्ने वडा अध्यक्ष संजिवबहादुर छतकुलीले बताउनुभयो । पाँच सय मिटर लम्बाइको बुढियामाई मन्दिरदेखि सीमासम्म, १५ सय मिटर लम्बाइ रहेको वडा कार्यालयदेखि कोनिया गाउँ हुँदै तिलावे नदीसम्म, स्वास्थ्य चौकीदेखि पदमरोडसम्म (एक किलोमिटर) अलौं बजारदेखि इदगाहसम्म (७०० मिटर) लगायतका सडक कालोपत्र गर्ने काम भइरहेको वडा कार्यालयले जनाएको छ ।
यसैगरी, बुढियामाई मन्दिरको सौन्दर्यीकरणमा गत आर्थिक बर्षमा ४८ लाख र यस आर्थिक बर्षमा ५० लाख गरि कुल ९८ लाख बजेट विनियोजन भएको वडा अध्यक्ष छतकुली जानकारी दिनुभयो । यसैगरी, एक करोडको लागतमा १६ शैयाको अस्पताल पनि निर्माण भइरहेको छ ।

वीरगंज महानगरपालिकाको सहयोगमा एक करोड लागतमा बर्थिङ सेन्टर र प्रदेश सरकारको ५० लाखको लागतमा स्वास्थ्य चौकी निर्माण भएको उहाँले जानकारी दिनुभयो ।


सडक तथा अन्य भौतिक संरचनाको काम सम्पन्न भएपछि शैक्षिक संस्थान अर्थात् तीनवटा सरकारी विद्यालयको शैक्षिक अवस्था एवं सरसफाइ, स्वास्थ्य संस्थाको व्यवस्थापन र अन्य जीविकोपार्जनका योजनाहरूमा पनि कार्य गर्ने उहाँको भनाइ छ ।
विसं १९०४ मा भएको अलौं पर्वलाई स्मरण गर्नको लागि अलौंमा सङ्ग्रहालय बनाउने योजना समेत रहेको र सोको लागि बजेट छुट्याउने वडा अध्यक्ष छतकुलीको भनाइ छ ।