काठमाडौं, १९ माघ । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ग्लोबल आईएमई बैंक लिमिटेडमा ५ करोड ६० लाख अमेरिकी डलर (७ अर्ब ४१ करोड रुपैयाँ) लगानी गर्ने भएको छ । यो साझेदारी आईएफसी र ग्लोबल आईएमईबीचको तेस्रो हो ।
यो लगानी महिलाद्वारा सञ्चालित व्यवसाय लगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनामा सहयोग गर्न परिचालन गरिने बैंकले जनाएको छ ।यो लगानीको उद्देश्य साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सिर्जना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्ने रहेको बैंकले जनाएको छ ।
नेपालको वित्तीय क्षेत्रमा भएको आईएफसीको अहिलेसम्मकै सबैभन्दा ठूलो यो लगानी तथा परिचालनले ग्लोबल आईएमई बैंकलाई साना तथा मझौला व्यवसाय, कोभिड–१९ महामारीबाट प्रभावित उद्यम, महिला स्वामित्वमा रहेका साना तथा मझौला उद्यम र ग्रामीण क्षेत्रमा रहेका उद्यम–व्यवसायलाई सहयोग गर्न सघाउ पुर्याउने छ ।यो ऋणको ५० प्रतिशत ग्लोबल आईएमईले साना तथा मझौला र खुद्रा ग्राहकका लागि जलवायु तथा लैङ्गिक क्षेत्रको लगानीमा समान विनियोजन गर्ने छ ।
बाँकी ५० प्रतिशत साना तथा मझौला उद्यममा कर्जा प्रवाह गर्न प्रयोग गर्ने छ ।
नेपालमा कुनै पनि विकास वित्तीय संस्थाले कुनै पनि बैंकलाई लैङ्गिक वित्तीय फाइनान्स उपलब्ध गराएको यो पहिलो पटक हो ।
नेपालको अर्थतन्त्रको मेरुदण्ड साना तथा मझौला उद्यमले मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा २२ प्रतिशत योगदान गरेको छ र २० लाख बढीलाई रोजगारी दिएको छ ।


प्रतिक्रिया