मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगर महोत्सव : १ लाख ७८ हजार अवलोकनकर्ताले गरे महोत्सवको भ्रमण

रत्ननगर महोत्सव : १ लाख ७८ हजार अवलोकनकर्ताले गरे महोत्सवको भ्रमण

न्यूजस्टोरी

चितवन, ५ माघ । पूर्वी चितवनको टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको नवौ दिन सम्म एक लाख ७८ हजार अवलोकन कर्ताले महोत्सवको भ्रमण गरेको आयोजकले जनाएको छ ।

रत्नगगर उद्योग बाणिज्य संघको आयोजनामा जारी महोत्सवमा तीन लाखले अबलोकन गर्ने अनुमान गरिएको थियो । उक्त महोत्सवको पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार, तेस्रो दिन १५ हजार, चौथो दिन १५ हजार, पाँचौ दिन ३६ हजार, छैठौ दिन १६ हजार, सातौ दिन १५ हजार, आठौं दिन २२ हजार, नवौ दिन २६ हजार बढीले अवलोकन गरेको संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक शंकर गिरीले जानकारी दिनुभयो ।

महोत्सवमा रहेका खास खास विषयले दर्शकलाई लोभ्याएको छ । महोत्सवमा निर्माण गरिएको कृषि परिसर, सांस्कृतिक घर र मोटरबोटमा अत्याधिक भिड हुने गरेको छ । कृषि परिसरमा मकै वाली लगाइएको छ । मकैको स्टाचु र मकैको ढोढबाट घर निर्माण गरिएको छ । माछा पोखरी र च्याउको टनेल समेत रहेको कृषि परिसरमा गाईले बाच्छीलाई दूध चुसाउदै गरेको मुर्ति निर्माण गरिएको संघका उपाध्यक्ष हरि अधिकारीले जानकारी दिनुभयो ।

कृषि परिसरमा रहेका दृश्य हेर्ने र फोटो खिच्नेको भीड महोत्सवमा देख्न सकिन्छ । यता, विभिन्न जातजातिको परम्परागत घर हेर्ने र फोटो खिच्नेको भीड पनि उस्तै रहेको छ । रत्ननगर महोत्सवकै इतिहासमा पहिलो पटक सञ्चालन गरिएको मोटरबोट चढेर जलयात्रा गर्नेको पनि संख्या पनि उल्लेख्य रहेको आयोजकको दावी छ । त्यसैगरी उद्यमी महिलाहरुले उत्पादन गरेका सामाग्रीहरु समेत महोत्सवमा अपेक्षाकृत विक्री भइरहेको छ ।

घरेलु अचार, हस्तकलाका सामाग्री, ग्रुन्द्रुक लगायतका सामाग्री उत्पादन गरि महिलाहरुले महोत्सवमा विक्रीका लागि राखेका छन् । सहकारीले उत्पादन गरेका दुधका परिकारहरुले महोत्सवमा राम्रो बजार पाएका छन् । रत्ननगर महोत्सवको १२ औं संस्करणमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहेका छन् ।

यसैबीच, महोत्सव अन्तर्गत टाँडीमा आयोजना गरिएको रत्ननगर सांस्कृतिक खाना महोत्सव विहीबार सकिएको छ । रत्ननगर महोत्सव माघ ८ गते सम्म चल्ने छ ।