चितवन, २१ पुस । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको यो महोत्सवको स्टल निर्माण, प्रचारप्रसार र आन्तरिक व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको संघका अध्यक्ष तथा मुल व्यवस्थापन समितिका संयोजक शंकर गिरीले जानकारी दिनुभयो ।
महोत्सवको समग्र व्यवस्थापनको काम करिब ९० प्रतिशत सकिएको उहाँको भनाइ छ । महोत्सवको प्रधानमन्त्री प्रचण्डबाट उद्घाटन हुनेछ । यस बर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको १२औं संस्करण पौष २६ गते उद्घाटन भएर माघ ८ गते सम्म चल्ने छ ।
विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिइएको संघका अध्यक्ष तथा महोत्सव मुल व्यवस्थापन समितिका संयोजक शंकर गिरीले जानकारी दिनुभयो । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन् ।
यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अनुमान गरिएको छ । चितवनवासीहरुले गौरव र पर्वको रुपमा मान्दै आएको रत्ननगर महोत्सव व्यापार र व्यवसायको जगतमा उत्कृष्ट र अनुपम नमुनाको रुपमा रहेको छ ।
रत्ननगर महोत्सवमा प्रवेशका लागि अबलोकनकर्ताले खरिद गरेको टिकटबाट मौलाकालिका केबुलकारमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ । महोत्सवको टिकट लिएर जानेलाई माघ १५ गते सम्म सो सुविधा प्राप्त गर्न सक्ने संघले जनाएको छ ।


प्रतिक्रिया