मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज धेरै ठाउँमा पानी नपर्ने, भोलिदेखि फेरि झरीको सम्भावना

आज धेरै ठाउँमा पानी नपर्ने, भोलिदेखि फेरि झरीको सम्भावना

न्यूजस्टोरी

काठमाडौं । आज देशका धेरै ठाउँमा पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । कोशी र सुदूरपश्चिमका एकरदुई ठाउँमा मात्रै अहिले हल्का वर्षा भैरहेको छ । आज एकरदुई ठाउँमा मात्रै मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर भोलि पर्सि फेरि पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले बताउनुभयो ।

यसवर्ष मनसुन कम सक्रिय हुँदा अहिलेसम्म लगातार झरी नपरेको पनि महाशाखाले जनाएको छ । तर मनसुनी प्रणाली भित्रिने बेला असार पहिलो हप्ता पूर्वमा परेको पानीले मानवीय तथा भौतिक क्षति गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसवर्ष अहिलेसम्म विपदबाट ३४ जनाको ज्यान गएको छ । २५ जना बेपत्ता भएका छन् । ताप्लेजुङका ११ वटा र पाँचथरका ११ गरी २२ वटा झोलुङ्गे पुल बगाएको छ । यी पुल बगाउँदा १२ करोड १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बाढी पहिरोबाट निर्माणमा रहेका १७ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । त्यस्तै सञ्चालनमा रहेका १३ आयोजनामा क्षति भएको छ । ती आयोजनाको कूल क्षति आठ अर्ब ५० करोड बराबर छ । यस्तै, बाढी पहिरोका कारण ३१ वटा साना जलविद्युत् आयोजनामा ४४ करोड ९० लाख बराबरको क्षति भएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

नेपालमा गएको जेठ ३१ गते मनसुन भित्रिएको हो । सङ्घीय सरकारले मनसुनजन्य क्षतिमा अहिलेसम्म २० लाख रुपैयाँ बराबरको नगद राहत वितरण गरेको छ ।