काठमाडौं । नेकपा माओवादीका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत नपाए संविधानको धारा ७६ (३)मा अनुसार नयाँ सरकार गठन हुने जिकिर गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच धारा ७६ (२) अनुसार केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्नेगरी भएको सहमतिप्रति माओवादी नेताहरूले विरोध जनाए । धारा ७६ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री बन्ने व्यवस्था छ । ३ मा ठूलो दलको संसदीय दलको नेताको नेतृत्वमा सरकार बनाउने व्यवस्था छ ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्ने माओवादी सांसदहरूले अबको सरकार धारा ७६ (३) अनुसार बन्नुपर्ने जिकिर गरेका हुन् । प्रतिनिधि सभा बैठकको विशेष समयमा माओवादीका लेखनाथ दाहालले असार २८ गते प्रचण्डले विश्वासको मत नपाए संविधानको धारा ७६ (३) को सरकार बन्ने दाबी गरे ।
राष्ट्रपतिले संविधानको पालना गर्ने र कांग्रेस एमालेले जे भन्यो त्यही गर्न नहुने दाहालको भनाइ थियो । प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा माओवादी सांसद महिन्द्र राय यादवले अबको सरकार धारा ७६ (३) अनुसारको बन्ने दाबी गरे । यस्तै शून्य समयमा सांसद छिरिङ डम्डुल लामा भोटे र छिरिङ लामा तामाङले कुर्सीको लागि माओवादीले संविधानको गलत व्याख्या नगर्ने भन्दै धारा ७६ (३) अनुसारको सरकार बन्ने दाबी गरेका थिए ।
संविधानको कुन धाराबाट सरकार बनाउने भन्ने विषयलाई लिएर संसद्मा माओवादी र एमाले सांसदहरूबीच जुहारी चलिरहेको छ ।


प्रतिक्रिया