मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेठमा ईभी आयातले बनायो रेकर्ड, बजेटअघि नै व्यवसायीले भित्र्याएका थिए ३ हजार गाडी

जेठमा ईभी आयातले बनायो रेकर्ड, बजेटअघि नै व्यवसायीले भित्र्याएका थिए ३ हजार गाडी

न्यूजस्टोरी

काठमाडौं । अटो व्यवसायीले बजेटअघि ३ हजार बढी विद्युतीय गाडी आयात गरेको पाइएको छ। जेठ १ देखि १४ गतेसम्म ३ हजार बढी विद्युतीय गाडी आयात भएका हुन्। सरकारले जेठ १५ गते बजेट ल्याइसकेको छ। व्यवसायीले बजेटले विद्युतीय गाडीमा कर बढाउने पूर्वसूचनाको आधारमा ३ हजार बढी गाडी छुटाएका हुन्। जुन सामान्य अवस्थाको तुलनामा अस्वाभाविक आयात हो।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिनामा ११ हजार ९०८ विद्युतीय गाडी भित्रिएका छन्। जसमा वैशाखसम्म ८ हजार ७०९ वटा गाडी भित्रिएका थिए। तातोपानी भन्सार र रसुवागढी भन्सारबाट सबैभन्दा बढी गाडी आयात भएका छन्। जेठ महिनाभर ३ हजार १९९ गाडी भित्रिएका छन्। अधिकांश गाडी बजेटअघि नै भित्रिएका हुन्। राजस्व अनुसन्धान विभागले केही कम्पनीले बजेटअघि अस्वाभाविक रुपमा गाडी भित्र्याएको अनुमानमा आयातकर्ता कम्पनीमाथि अनुसन्धान समेत थालेको छ। सरकारले कम मूल्यका ९५० किलोवाटसम्म०का गाडीमै ५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तस्शुल्क बढाएको छ।

भन्सार कार्यालयका अनुसार उत्तरी नाकाबाट ५० देखि १०० किलोवाटका गाडी सबैभन्दा बढी भित्रिएका छन्। ११ महिनामा चीनबाट मात्रै ८ हजार ३७७ गाडी भित्रिएका छन्। भारतबाट ३ हजार २७७ गाडी भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ। ५० किलोवाटका गाडीमा चीनबाट १२ सय ९२, भारतबाट २९ सय २ र इन्डोनेसियाबाट १५० वटा गाडी भित्रिएका छन्।

५१ देखि १०० किलोवाटसम्मका गाडीमा चीनबाट ६ हजार ५५० गाडी भित्रिँदा भारतबाट ३३३ वटा मात्रै भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ। ५१ देखि १०० किलोवाटसम्मका कोरियाबाट २ वटा मात्रै भित्रिएका छन्। १०१ देखि २०० किलोवाटसम्म चीनबाट ६८, जर्मनीबाट १९, भारतबाट ४२, कोरियाबाट ८० गाडी भित्रिएका छन्। २०१ देखि ३०० किलोवाटसम्म चीनबाट २१, जर्मनीबाट ३, अमेरिकाबाट ३ वटा भित्रिएका छन्। ३०० किलोवाटमाथिको जर्मनीबाट एउटा विद्युतीय गाडी भित्रिएको छ। विद्युतीय गाडीको आयात बढ्दा कुल आयात नै ८० अर्ब ८५ करोड रुपैयाँको भएको छ। वैशाखसम्म ६७ अर्ब २ करोडको आयात भएको थियो। जेठमा गाडी तथा पार्ट्स मात्रै १३ अर्ब ८३ करोडको आयात भएको छ।