काठमाडौं । राजस्व संकलनका लागि महत्वपूर्ण भूमिमा रहने भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक फेरिएका छन् । अर्थ मन्त्रालयले बुधबार बेलुका सार्वजनिक गरेको सूची अनुसार १४ सहसचिवको सरुवा र कार्यविभाजन गर्ने क्रममा राजस्व विभागका प्रमुखको सरुवा तथा हेरफेर गरेको हो ।
भन्सारको महानिर्देशकमा महेश भट्टराई र आन्तरिक राजस्वको महानिर्देशकमा मदन दहाललाई सरुवा गरिएको छ ।उनीहरू दुवै जना अर्थ मन्त्रालयमा कार्यरत थिए । दहाल अर्थको प्रशासन प्रमुख र भट्टराई योजना अनुगमन तथा मुल्यांकन महाशखा प्रमुख एवं प्रवक्ता थिए । मन्त्रिपरिषद्ले सोमबार भन्सार महानिर्देशक हरिशरण पुडासैनी र आन्तरिकका महानिर्देशक रामप्रसाद आचार्यलाई सरुवा गरेको थियो । उनीहरू दुवैलाई महानिर्देशक बनेको ६ महिनामा सरुवा गरिएको थियो ।
भन्सार महानिर्देशकमा सरुवा गरिएका भट्टराईलाई अर्थका जानकारको रुपमा हेरिने गरेको छ । यस अघि उनले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख प्रशासक र राष्ट्रिय योजना आयोगमा काम गरिसकेका छन् । दहालले भने यसअघि राजस्व अनुसन्धान विभाग र वैदेशिक रोजगार विभागको महानिर्देशक भएर काम गरेका छन् । दहाललाई २०७८ कात्तिकमा राजस्व अनुसन्धानको महानिर्देशकको जिम्मेवारी दिएकोमा तीन महिनामा फिर्ता गरिएको थियो ।
मन्त्रालयले त्रिभुवन विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश बराललाई अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखा प्रमुखमा सरुवा गरिएको छ । विमानस्थल प्रमुख रिक्त भएको छ । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक सेवन्तक पोखरेललाई अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन तथा समन्वय महाशाखा प्रमुखमा सरुवा गरिएको छ भने र गोपी कृष्ण कोइरालालाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुखमा सरुवा गरिएको छ ।


प्रतिक्रिया