काठमाडौं । सिमेन्ट उद्योगहरूले कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्यवृद्धि गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। माओवादी केन्द्रका मधेस प्रदेश प्रदेशसभा सदस्य रहबार अन्सारीले नेपाल सरकारको गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, र नेपाल सिमेन्ट उत्पादक संघलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा उत्प्रेषण परमादेश माग गर्दै निवेदन दिएका हुन्।
पछिल्लो एक महिनामा कच्चा पदार्थ ‘क्लिङकर’ अभावको बहाना बनाएर उद्योगहरूले बजारमा सिन्डिकेट कायम गर्दै कालोबजारी गरिरहेको र त्यस अनुसार सिमेन्टको मूल्य प्रतिबोरा दुई सय रुपैयाँभन्दा बढीले बढाइएको निवेदनमा उल्लेख छ।
‘कच्चा पदार्थ क्लिङकरको अभाव देखाइ बिक्रेताले कृत्रिम अभाव सिर्जना गरी स्टकमा रहेको सिमेन्ट बढी मूल्यमा बेच्दै कालोबजारी गर्ने गरेको आम उपभोक्ता, निर्माण व्यवसायी का साथै म सर्वसाधरण समेत यसबाट प्रभावित भएको छु। यस सम्बन्धमा बुझ्दा, ध्यानाकर्षण लगायतका कार्य गरी नेपाल सिमेन्ट उत्पादक संघसँग वार्ता गर्दा संघले उत्पादनको लागत बढेपछि मूल्य बढाइएको बताउने गरेको छ,’ निवेदनमा भनिएको छ, ‘सिमेन्टको कच्चा पदार्थ क्लिङकरबाट वीरगञ्ज भन्सार कार्यालयले वार्षिक चार अर्ब रुपैया राजस्व उठाउँदै आएको भए पनि भारतीय पक्ष क्लिङकर आउनमा रोक लगाएपछि अहिले रक्सौलमा स्टक गरि राखिएको पुरानो कच्चा पदार्थ मात्र आउने गरेको छ।’
हालको अवस्थामा उद्योगले मागअनुसार सिमेन्ट बिक्री नगरी बजारमा सिन्डिकेट लाद्रे काम गर्दा व्यापारीले कालोबजारीलाई बढावा दिएको सांसद अन्सारीले निवेदनमा दावी गरेका छन्। २०८१ साल कार्तिक १ गते उद्योगबाट पिपिसी सिमेन्ट ३ सय २७ रुपैया रहेको सिमेन्टको मूल्य कार्तिक ५ गते ३३६ रुपैया, कार्तिक २५ गते ३६३ रुपैया प्रतिबोरा मूल्यमा उद्योगबाट सिमेन्ट विक्री भईरहेकोमा मंसिर १५ गते यसको मूल्य उद्योगले ३९८ रुपैया पुऱ्याएको थियो । यो मूल्यमा प्रतिबोरा ११ रुपैया अन्तशुल्क कर र त्यसपछि १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोडेर बजारमा जाने गरेको छ। ‘यस अर्थमा कर सहित मंसिर १५ गतेको सिमेन्टको मूल्य प्रतिबोरा ४ सय ६२ रुपैया थियो।
मंसिर १५ गते मूल्य बढाएका सिमेन्ट उद्योगले मंसिर १७ गते पुनः आफ्ना डिलरहरुलाई परिपत्र गरि पिपिसी सिमेन्ट प्रतिबोरा ५ सय ५० रुपैया सम्म बिक्रि गर्न आदेश दिएका थिए।
कार्तिक १ गते कर सहित प्रतिबोरा ४७२ रुपैयामा ओपीसी सिमेन्ट बिक्री गरेका उद्योगले मंसिर १७ गते उद्योगले उक्त सिमेन्टको मुल्य बढाएर ६३० रूपैयाँ प्रतिबोरा बिक्री गर्न आदेश दिएका थिए। कुनै स्वभाविक कारण बिना नै सिमेन्ट उद्योगहरुले मनोपलि रुपमा सिमेन्टको मूल्य बढाएपछि उपभोक्तासंगै डिलरहरु समेत मारमा परेका छन्,’ रिट निवेदनमा उल्लेख छ।
पछिल्लो महिनामा प्रतिबोरा पाँच सयमा पाइने ५० केजी सिमेन्टको मूल्य प्रतिबोरामा २७५ रुपैयाँसम्म वृद्धि गरिएको दाबी गरिएको छ।


प्रतिक्रिया