मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पक्राउ पुर्जी जारी भएपछि सार्वजनिक लेखा समितिका सभापतिले हटाए स्वकीय सचिव

पक्राउ पुर्जी जारी भएपछि सार्वजनिक लेखा समितिका सभापतिले हटाए स्वकीय सचिव

न्यूजस्टोरी

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अनिलकुमार पोखरेललाई स्वकीय सचिव पदबाट हटाएका छन् । आज (शुक्रबार) सभापति पोखरेलले संघीय संसद् सचिवालयलाई पत्र लेखेर स्वकीय सचिव अनिलकुमारलाई हटाएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

स्वकीय सचिव पदबाट हटाइएका अनिलकुमार पोखरेल एमालेको मोरङ जिल्ला कमिटीका सदस्य पनि हुन्।अनिलकुमार पोखरेलविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङले जाहेरी लिन समेत मानेको थिएन । स्वकीय सचिव अनिलकुमारले बौआलाल चौधरीको छोरीको नाम एमबीबीएस इन्ट्रान्समा निकालिदिने आश्वासन दिई ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप लागेको छ ।

बौआलाल चौधरीको छोरीको नाम एमबीबीएसमा ननिस्किएपछि पैसा फिर्ता माग्दा उल्टै धम्की दिएर अनिलकुमारले ५० लाख ऋण लिएको लिखत बनाइ चौधरीलाई हस्ताक्षर गराएका थिए । अनिलकुमारलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत मोरङले प्रहरीलाई अनुमति दिएको छ । त्यसपछि सभापति पोखरेलले प्रहरीलाई अनुसन्धानमा सहयोग होस् भनेर आफ्ना स्वकीय सचिव अनिलकुमारलाई हटाएका हुन्।

इलाका प्रहरी कार्यालय रंगेली र जिल्ला प्रहरी कार्यालय मोरङले चौधरीको जाहेरी लिन मानेको थिएन । जिल्ला सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता गर्नका लागि प्रहरीलाई चिठी लेख्न अस्वीकार गरेको थियो । अनिलकुमार पोखरेल एमालेको मोरङ जिल्ला कमिटी सदस्य हुन् । २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवारमा जिल्ला कमिटीबाट सिफारिस भएका थिए ।