काठमाडौं । यस वर्ष अर्थात् २०८१ सालको एसईई परीक्षा आगामी चैतको ७ गतेदेखि आरम्भ हुँदै छ । विगतका केही वर्षदेखि एसईई परीक्षाको नतिजाको प्रतिशत घटेर जाँदै छ ।
प्रतिशत मात्र घटेको नभई माध्यमिक शिक्षाको गुणस्तरसमेत खस्केर जान थालेको छ । संस्थागत विद्यालयको तुलनामा सरकारी विद्यालयको सफलताको प्रतिशत अझै कम रहेको छ । जबकि सरकारी विद्यालयका सबैजसो शिक्षक शिक्षक आयोग पास गरी क्षमतावान् भन्ने प्रमाणित भएर नियुक्त भएका हुन्छन् ।
उता संस्थागत विद्यालयमा थोरै पैसामा काम गर्न चाहने शिक्षक पाएको खण्डमा गुणस्तरका कुरा तपसिलमा रहने गर्छन् । यसरी तुलना गर्दा संस्थागतको तुलनामा सामुदायिक विद्यालयहरूको नतिजा निराशाजनक रहेको पाइन्छ । जब एसईई परीक्षाको नतिजा प्रकाशित हुन्छ तब शिक्षा मन्त्रालयले आफूभन्दा तलको निकायलाई दोषारोपण गर्ने, उक्त निकायले पनि अझै तल्लोलाई दोषारोपण गरेर आफू चोखो बन्न खोज्ने र अन्त्यमा विद्यालयका शिक्षकका टाउकामा सबै दोष थोपरेर आफू चोखो बन्न खोज्ने बानी मौलाएको छ ।
एसईईको नतिजा सार्वजनिक भएको करिब दुई हप्तासम्म थोरै प्रतिशत विद्यार्थी मात्र किन सफल भए अनि धेरै प्रतिशत कसरी सफल हुन सकेनन् भनेर रोइलो मचिन्छ । अन्त्यमा शिक्षकले राम्ररी नपढाएकोले अब राम्ररी पढाउनका लागि चेतावनी दिने, तलब रोक्का गर्ने, जागिर घटुवा गर्ने भन्नेसम्मको रोइलो मच्चाइसकेपछिका केही दिनदेखि तैँ चुप मै चुपको वातावरण बन्छ । विगतका निकै वर्षअगाडिदेखि यो क्रम जारी छ ।
विगतको एसएलसी परीक्षालाई फलामे ढोका (आइरन गेट) भन्ने चलन थियो । अहिले पनि कतै–कतै त्यसको धङधङी रहेको पाइन्छ । आइरन गेट भन्नुको तात्पर्य के भने, एसएलसी परीक्षा पास भएपछि अरु माथ्लो तहको पढाइ सजिलै गर्न वा अगाडि बढाउन सहज हुन्छ भनेर भनिएको हुनसक्छ । तर विगतको तुलनामा एसईई परीक्षा दिने तयारीमा लागेका आम विद्यार्थी (झन्डै ९० प्रतिशत) मा पढाइ वा सिकाइको भोक लागेको पाइँदैन । केवल अभिभावक र शिक्षकको लागि पढिँदै छ कि भनेजस्तो प्रतिक्रिया विद्यार्थीबाट आउने गरेको छ ।
वि.सं. १९९० देखि नेपालबाट एसएलसी परीक्षा दिन थालिएको र झन्डै एक शताब्दीको समय बित्दै जाँदा पढाइ र सिकाइको गुणस्तर झन्–झन् खस्केर जान थालेको पाइन्छ । पढाइ र सिकाइको यो खस्काइका मुख्य कारणहरुमा आम विद्यार्थीको पढाइप्रतिको नकारात्मक धारणाले गर्दा भएको हो ।
दोस्रो कारण मनोरञ्जनका साधनको बढोत्तरी पनि एउटा प्रमुख कारण हो । अर्को कारण मिहिनेत गरेर अब्बल दर्जामा सफलता हासिल गर्न सक्ने जनशक्तिलाई पनि कतैबाट हौसला नमिल्नाले मनमा छाएको निराशाका कारणले गर्दा पनि पढाइको गुणस्तर खस्कन पुगेको हो । अर्को सानो कारणमा शिक्षक पनि पूर्ण निर्दोष रहेका हुँदैनन् । उनीहरुको विनायोजनाको सिकाइ र उपलब्धि हासिल भए÷नभएको समीक्षा गराइको अभाव मात्र होइन कि शून्य समीक्षा आदिका कारणले हालको माध्यमिक शिक्षाको गुणस्तर खस्केर गएकै हो ।
तर गुणस्तर खस्केर गयो भनी हात बाँधेर कुनै पनि पक्षले बस्ने बेला यो होइन । एसईई परीक्षाको लागि चैत ७ गते पर्खंदै गरेका आम विद्यार्थीले सचेत भएर आजैदेखि प्रयास गर्न थाल्ने हो भने शिक्षाको गुणस्तर पनि सुधारेर लैजान सकिन्छ । अनि सफलताको प्रतिशत पनि अघिल्लो वर्षको तुलनामा दोब्बर बढेर जान सक्छ । एसईई परीक्षाको गुणस्तर सुधारका लागि शिक्षाको सर्वोच्च निकायले व्यापारको विज्ञापन गरेकै जसरी विद्यार्थी र शिक्षकको हौसला बढाउने तर निराश बनाउने होइन भन्नेजस्ता कार्यक्रम यो बीचको समयमा प्रस्तुत गर्नुपर्ने हुन्छ ।
विद्यार्थीको हौसला बढाउनको लागि आकर्षक पुरस्कारको व्यवस्थापन गर्न सकिन्छ भने स्थानीय निकायले आफ्नो मातहतमा रहेका विद्यालयका शिक्षकहरुलाई जागरुक बनाउने, सानो चेतावनी दिनेजस्ता काम गर्नुका साथै हरेक विद्यालयको तयारी परीक्षाको नतिजा स्थलगतरुपमा समीक्षा गर्ने र सुझाव वा हौसला के दिँदा जायज हुन्छ अवस्था हेरेर दिने काम गर्नुपर्छ ।
त्यति मात्र होइन, विपन्न वर्गका तर सिक्न इच्छुक र जागरुक विद्यार्थीलाई स्थानीय निकायले विषयगत शिक्षकको व्यवस्थापन गरेर भए पनि फाल्टु सिकाइको व्यवस्थापन गराउन वा गर्न सके अपेक्षित सुधार नभए पनि केही मात्रामा सुधार अवश्य हुनेछ । बरु यसका लागि संस्थागत विद्यालयका शिक्षकसँग समेत समन्वय गर्न सकिन्छ । एसईई परीक्षाको तयारीको लागि तेस्रो भूमिका निर्वाह गर्नुपर्ने काममा आम विद्यार्थीका अभिभावक सक्रिय हुनु जरुरी छ ।
आफ्ना सन्तानको पढाइको स्तर के छ ? पाढाइमा कतिको रुचि राख्ने गर्छन् ? घरमा बसेको समयमा कतिको ध्यानका साथ पढाइ–लेखाइ गर्छन् र जागरुक हुन्छन् ? भन्ने कुराको रेखदेख गर्ने कामको जिम्मा हरेक अभिभावकको हुनेछ । पढाइप्रति उनीहरूको हौसला बढाउनका लागि कुनै वस्तु प्राप्तिको आश्वासन बाँडेर पनि हौसला बढाउन सकिन्छ । उनीहरुको खाने समय, सुत्ने वा आराम गर्ने समय, मनोरञ्जन गर्नेसमेत केही समय छुट्याएर हौसला बढाइदिने हो भने एसईई परीक्षा आरम्भ हुने दिनसम्मको यो सुवर्ण अवसरको भरपूर सदुपयोग गरेको खण्डमा निकै राम्रो नतिजाको अपेक्षा राख्न सकिने स्तरमा पुग्न सक्छन् ।
उनीहरू पढाइ–लेखाइ गर्न सिकिरहँदाको अवस्थामा कसरी सिक्दै छन् भन्ने कुरा पनि निकै महत्वपूर्ण हुन्छ । उनी कापीमा लेखेको कुरा कराएर घोक्दै छन् भने त्यो मध्यम किसिमको सिकाइ हुन्छ । खर्रर पढेर मनमा विचार राख्दै सम्झन खोज्छन् भने त्यो उच्च विशिष्ट तरिकाको पढाइ वा सिकाइ हुन्छ । त्यस्तै आफ्ना सन्तानले लेखपढ गर्ने समयमा एक्लै बसेर लेखपढ गर्न रुचाउँछन् वा साथीसँग बसेर ? भन्ने कुरा पनि महत्वको विषय हो ।
एक्लै नबसेर साथीसँग बसी सिकाइ गर्दा दुईजना मात्र बस्छन् वा दुईभन्दा अधिक साथी बसेर पढ्छन् ? भन्ने कुराको निरीक्षण गर्ने काम पनि अभिभावकको जिम्माको काम हो । लेखपढ गर्न बस्दा एकजना मात्र टाइट हुन्छ, दुईजना राइट हुन्छ र तीनजना सँगै बसे फाइट हुन्छ भनेर अनुभव बटुलेका व्यक्तिले भनेका छन् । त्यसैले आफ्ना सन्तानले साथीसँग बसेर पढ्न वा सिक्न खोज्छ भने ऊ आफू, अनि अर्को एकजना मात्र साथीसँग बस्नु र सिक्नु उपयुक्त हुन्छ । दुईभन्दा अधिक भएपछि पढाइभन्दा नचाहिँदा गफतिर मन जानुका साथै विवादसमेत पर्न सक्छ ।
त्यसैले आफूभन्दा अधिक जान्ने र इमानदार मिहिनेत गर्न सक्ने साथीको छनोट गरेर केवल दुईजना मात्र बसेर सिकाइ गरेको खण्डमा यस्तो सिकाइ अधिक प्रभावकारी सिकाइ हुनसक्छ । अभिभावकका यी जिम्मेवारीपछि सबैभन्दा महत्वपूर्ण जिम्मेवारी एसईई परीक्षामा सामेल हुनुपर्ने विद्यार्थीको हुन्छ । यदि विद्यार्थीले यो पढाइ आफ्ना लागि तर अरु कसैका लागि पनि होइन भन्ने सोचाइ बनाउन सकेको खण्डमा पनि उसले प्रभावकारी सिकाइ गर्न सक्छ ।
होइन भने अभिभावकले गाली गर्नुहोला वा कुनै सजाय नै पनि दिनुहोला भन्ने खालका विचार मनमा राखेर सिक्न बस्ने विद्यार्थीले खास सिकाइ गर्न सक्दैन । जुन विद्यार्थीले यो पढाइ आफ्ना लागि हो, यदि मैले सफलता हासिल गर्न सकिन भने साथीभाइले के भन्लान् ? अथवा आफूलाई लाज हुनेछ भन्ने कुरा आत्मसात् गर्ने विद्यार्थीले अवश्य पनि सफलता हात लाउने गरी इमानदार मिहिनेत गरेरै छोड्छ ।
विद्यार्थीभित्र सिकाइको भोक जागेको छ भने उसले जसरी पनि सिक्न र जान्न खोज्छ । यदि होइन भने पढाइ र लेखाइबाट कसरी उम्केर भाग्ने ? भन्नेजस्तो मानसिकताको विकास भएर जान्छ । विद्यार्थीको यस्तो सकारात्मक वा नकारात्मक विचार उत्पन्न गराउने कुरामा उनीहरूको बासस्थानको बसाइको र व्यवहारको पनि गठजोड मिलेको हुन्छ । अब चैत महिनामा सञ्चालन हुन गइरहेको एसईई परीक्षाको तयारीका लागि विद्यार्थी आफैँ जागरुक हुन जरुरी छ ।
जागरुक हुनु भनेको सही समयको सही तरिकाले सदुपयोग गरेर दिमागमा थोरै पनि दिक्दारी नआउने तरिका अपनाएर अथवा पढाइलाई मनोरञ्जनात्मक खेलाइका रुपमा मानेर सिक्ने हो भने दिक्क लाग्नुको साटो मन सन्तुष्ट भएर आनन्दसमेत प्राप्त हुँदै जानेछ । एसईई परीक्षामा सामेल हुने विद्यार्थीले जतिवटा विषयको परीक्षा दिनुपर्ने हो ? ती सबै विषयहरु उत्तिकै महत्वका विषय हुन् । एउटा विषयमा अलि धेरै अंक हासिल गर्न त सकियो तर कुनै अर्को विषयको परीक्षामा असफल नै अवस्था रहेको छ भने त्यस्ता विद्यार्थीले पढाइको तरिका परिवर्तन गर्न जरुरी हुन्छ ।
अलि गाह्रो लाग्ने वा प्रयोगात्मक अभ्यास धेरै गरिरहनुपर्ने विषयलाई अलि बढी समय र त्यसो गर्नु नपर्ने विषयको पढाइलाई अलि कम समय दिए पनि पुग्ला । तर महत्व भने दुवै वा सबै विषयलाई दिइनु नै पर्नेछ । कसैले अरु साथीको नक्कल गरेर परीक्षा राम्रो बनाउँछु भनी सोचेको छ भने त्यो सोचाइ सबैभन्दा निकृष्ट (तल्लो दर्जाको) सोचाइ हो भनेर जान्नुपर्छ । विद्यार्थीले आफूमा हरसमय पढाइप्रतिको लगाव बढाउनको लागि सिक्ने इच्छाको बढोत्तरी गर्न जरुरी छ ।
सिक्ने इच्छा नै मरेको वा नभएको मान्छेले सिक्न नसक्ने भन्ने त होइन तथापि उसलाई त्यो सिकाइ धेरै बोझिलो भएर ठूलो भारीले थिचेजस्तो अनुभूति भइरहेको हुन्छ । मानसमा त्यस्तो अनुभूति बोकेको विद्यार्थीले धैर्यताका साथ सिकाइमा सहभागी हुन अवश्य सक्नेछैन ।
यस लेखमा जति पात्रलाई जिम्मेवार बनाउन खोजियो ती सबै पात्रले आ–आफ्ना तर्फबाट आफ्ना भूमिका निर्वाह गरिदिएका खण्डमा २०८१ सालको एसईई परीक्षाको नतिजा प्रकाशित हुँदा नाटकीय रुपमा पढाइको गुणस्तरमा र सफलताको प्रतिशतमा समेत धेरै मात्रमा बढोत्तरी भएर जानेछ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । त्यसैले सम्बन्धित सबै पक्ष यसको तयारीमा जुटौँ अनि पछि कसैले कसैलाई आरोप–प्रत्यारोप नगरौँ ।
प्रतिक्रिया