मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुका बाढी पीडितलाई आर्थिक सहयोग प्रदान, १ सय जना विस्थापित

सोलुका बाढी पीडितलाई आर्थिक सहयोग प्रदान, १ सय जना विस्थापित

न्यूजस्टोरी

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले बाढीपीडितलाई आर्थिक सहयोग गरेको छ । स्थानीय निकायबाट रु ५० हजार र जिल्ला दैवी प्रकोप उद्धार समितिबाट रु १५ हजार गरी रु ६५ हजार प्रदान गरिएको हो । 

बाढी प्रभावित क्षेत्रमा पुगेका सोलुखुम्बुका सांसद एवं रक्षामन्त्री मानवीर राई नेतृत्वको टोलीमा रहेका राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम शेर्पाले तत्कालका निम्ति उक्त रकम राहत स्वरूप प्रदान गरिएको जानकारी दिए ।साथै उद्धार तथा राहतको काम प्रभावकारी ढङ्गले गर्न निर्देशन दिइएको उनले बताए । 

शुक्रबार स्थानीय थामे खोलाको लेदोसहितको बाढीले गाउँका घर, विद्यालय र स्वास्थ्य चौकीमा क्षति पुर्‍याएको छ । बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्य चौकी गरी २० घरमा क्षति भएको छ ।

सिङ्गो गाउँ नै बगरमा परिणत भएको तथा भविष्यमा बसोवासका लागि योग्य नभएकाले अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको सांसद शेर्पाले जानकारी दिए ।​बाढीबाट एक सय जना विस्थापित भएका छन् । नेपाली सेनासहितका सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधि पीडितको सहयोगमा जुटेका छन् । बाढीले पक्की पुलमा पनि क्षति भएको छ । प्रभावित क्षेत्र नाम्चेबाट करिब सात किलोमिटरको दूरीमा ‘थ्री पास’ मार्गमा रहको बताइएको छ । बाढीका कारण पुल भत्किएको र बाटो अवरुद्ध हुँदा हिँडेर सो क्षेत्रमा जान सकिने अवस्था छैन ।

आज बिहान बाढी भने रोकिएको सांसद शेर्पाले जानकारी दिए । त्यस क्षेत्रमा रहेका चार वटा हिमतालमध्ये सबैभन्दा सानो ताल फुटेको अनुमान छ । सांसद शेर्पाले भविष्यमा पनि जोखिम हुने भएकाले वस्ती स्थानान्तरण गर्ने सम्बन्धमा तीन तहका सरकारले कार्ययोजना बनाएर काम गर्नुपर्ने बताए ।