काठमाडौँ । संघीय संसद अन्र्तगत प्रतिनिधि सभाबाट आगामी आर्थिक बर्षको बजेट असार ७ गते पारित गर्ने तयारी भएको छ। संघीय संसद सचिवालयले तयार पारेको संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने भनिएको छ । अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए। बजेटमाथि सामान्य छलफल सकिएको छ। मंगलबारदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु हुँदैछ।
मंगलबार चारवटा मन्त्रालयअन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ। जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन्। असार ७ गतेसम्म बजेटको शीर्षकगत छलफल चल्नेछ। सोही दिन बजेट पारित गर्ने संसदीय क्यालेन्डरमा जनाइएको छ।


प्रतिक्रिया