मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुम्नै पर्ने पर्यटकीयस्थल बेथानचोक नारायणस्थान

घुम्नै पर्ने पर्यटकीयस्थल बेथानचोक नारायणस्थान

न्यूजस्टोरी

बेथानचोक गाउँ

काठमाडौं देखि करिब ४५ किलोमिटर दक्षिणमा बेथानचोक गाउँपालिका रहेको छ । यो गाउँपालिकाको कुल क्षेत्रफल १ सय १ वर्ग किलोमिटर रहेको छ । वि.सं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गरिदा काभ्रेपलाञ्चोक जिल्लाको ढुङ्खर्क, चलाल गणेशस्थान, च्याम्राङबेसी, च्यासिङ खर्क र महांकालचौर गाउँ विकास समितिलाई समेटेर बेथानचोक गाउँपालिका घोषणा गरिएको थियो । बेथानचोक गाउँ पालिकाको उत्तरमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती र नमोबुद्ध नगरपालिका, दक्षिणमा खानीखोला गाउँपालिका, पूर्वमा रोशी गाउँ पालिका रहेको छ भने पश्चिममा ललितपुर जिल्लाको महांकाल गाउँपालिका छ ।

समुद्री सतहबाट करिब ३ हजार १८ मिटर अग्लो स्थानमा रहेको बेथाञ्चोक नारायण मन्दिरको नामबाट बेथाञ्चोक गाउँपालिकाको नामाकरण गरिएको छ । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको हिमालय, महाभारत र चुरे गरी तीन प्रकारका पर्वत श्रृंखला नेपालमा रहेको छ । बेथानचोक गाउँपालिका भित्र महाभारत पर्वत श्रृंखला पनि पर्दछ । यो गाउँ पालिकाको सबै भन्दा उचाईमा नारायण मन्दिर पर्दछ । यो मन्दिर यही महाभारत पर्वत श्रृंखलाअन्तरगत पर्दछ । 

बेथानचोक गाउँपालिकाको ढुुङ्खर्कदेखि नारायणको मन्दिरसम्मको यात्रा थप रोचक छ । हिमाली हावासँगै उत्तरतर्फ लहरमा मिलेर बसेका सुनझै टलक्कै टल्केका हिमाल नियाल्दै वनपाखाका घुमाउरो र कच्ची सडकले थप मन रोमाञ्चित बनाउछ । पहाडी मनोरम दृश्यमा रमाउँदै वाइकमा आदिबाटोसम्म आनन्दले पुग्न सकिन्छ । त्यसपछि मन्दिरसम्म पुग्न ढुंगाको खुड्किलो बनाइएको छ । करिब डेढ देखि २ घन्टा जति उकालो ओरालो चढेपछि मन्दिर भएको ठाउँमा पुग्न सकिन्छ । जुन ठाउँमा पुगेपछि स्वर्ग भन्ने ठाउँ यही रहेछ भन्ने अनुभूति हुन्छ । पर्यटकहरुलाई यो ठाउँले मोहनी नै लगाउँदछ ।

यो नारायण मन्दिरको पनि आफ्नै इतिहास रहेको छ । सत्रौं शताब्दीमा भक्तपुरका राजा भूपतिन्द्र मल्लले यो डाँडामा भगवान नारायण रहेको भनि पत्ता लगाएको उल्लेख छ । राजा भूपतिन्द्रलाई चाँगुनारायणले दर्शन दिई यो डाँडामा बसाइँ सरेको सपनामा दिएपछि राजा त्यस स्थानमा गई पूजा अर्चाना गरेको उल्लेख छ । राजा त्यहाँ समय समयमा पुगी पुजाआजा गर्ने गरेको तर भगवान नारायणको मन्दिर निर्माण नगरेपछि त्यो स्थानलाई बेथान भनिन थालिएको त्यहाँका दिग्गज व्यक्तित्वहरुको भनाइ छ । 

बेथाञ्चोक गाउँपालिका– ३ नम्बर वडामा रहेको नारायण मन्दिर साउथ एसियामा फैलिएको महाभारत रेञ्जको काभ्रे जिल्लाकै सबैभन्दा अग्लो डाँडो हो । यो डाँडाबाट पूर्वको मकालुदेखि धौलागिरी हिमालय र पश्चिममा भारतको बिहारसम्म नियाल्न सकिन्छ । 

यस्तै यो नारायणको मन्दिरसँगै दुई वटा पौराणिक गुफा रहेको छ । जसलाई प्रचार गर्न सके पोखराको महेन्द्र गुफालाई समेत ओझेलमा पार्न सक्छ । यही पालिका भित्र तीनतले झरना पनि छ । जुन झरनाले पालिकाको सौन्दर्यलाई थप मजबुत बनाएको छ । यसैगरी पालिकाको पार्थली भन्ज्याङमा मानव निर्मित पर्यटकीय भ्यूटावर पनि त्यतिकै चर्चित छ । यहाँबाट पालिकाको प्रायः स्थानको अवलोकन गर्न सकिन्छ । 

आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँ पालिकमा भित्र्याउन सके त्यहाँको स्थानीयको आम्दानीको स्रोत अझ बलियो हुने थियो । यहाँ भएका संरचना,, इतिहास र सस्कृतिलाई बेच्न सकेमात्र पालिकाको आम्दानी थप मजबुत बन्न सक्छ । त्यसैले यहाँको चर्चित नारायण मन्दिर, गुफा, तीन तले झरना, भ्यूटावरलगायतका स्थानमा जाने सिँढी बाटोको स्तरोन्नति, मन्दिरको जीर्णोद्धार, पर्यटकलाई बस्ने ठाउँ, फोहोर व्यवस्थापन गर्न जरुरी छ ।

०००