मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपा सांसद बोल्दै गर्दा माइक काटिएपछि संसदमा लफडा

रास्वपा सांसद बोल्दै गर्दा माइक काटिएपछि संसदमा लफडा

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद हरि ढकाल बोलिरहेको समयमा माइक काटिएपछि प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा ढकालले बोल्न समय पाएका थिए ।

शुरूमा उनले भ्रष्टाचारका कारण सडक र पुलको बेहाल भएको कुरा राखे । उनले यही विषयमा बोल्न आकस्मिक समय माग गरेका थिए । त्यसपछि ढकालले विद्युत् महसुलको विषयमा कुरा गर्न खोजेका थिए । ‘हुन त सभामुखज्यूले यो विषयमा बोल्दा विषयमा केन्द्रित हुन भन्नुहोला, तर भ्रष्टाचारका विषय मध्यरातमा पनि आकस्मिक हुन्छन्,’ ढकालले भने । त्यसपछि सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्न समय दिएको विषयमा बोल्न आग्रह गरे ।

ढकालको माइक काटिएपछि विपक्षी सांसदले उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुखले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न २ मिनेट समय दिए । लामिछानेले हरि ढकालले बोल्दै गर्दा लाइन काटिएकाले उनैलाई बोल्न दिन माग गरे । ‘विद्युत् महसुल भन्नेबित्तिकै लाइन काटिनु आपत्तिको विषय हो,’ लामिछानेले भने ।

त्यसपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुखले सांसदलाई बोल्ने विषयमा नियन्त्रित गर्ने कुरा अमान्य रहेको बताए । ‘तिमीले यो विषय मात्र बोल्न पाउँछौ भन्ने कुरा मान्य हुँदैन । सांसदको विशेषाधिकारलाई नियन्त्रित गर्ने कुरा मान्दैनौं,’ लिङ्दनले भने ।

त्यसपछि पनि विपक्षी सांसदले बोल्न पाउनुपर्ने माग गरेपछि सभामुख घिमिरेले सभाको मर्यादा पालना गर्न आग्रह गरे । उनले बाँकी विषय विशेष समयमा राख्न आग्रह गरे पनि रास्वपा सांसद नबसेपछि संसद्को काम प्रभावित भएको छ ।