मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न अमेरिकाको आग्रह

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न अमेरिकाको आग्रह

न्यूजस्टोरी

काठमाडौँ । अमेरिकाले आफ्ना नागरिकलाई कुनै पनि अवस्थामा तत्काल लेबनान छाड्न आग्रह गरेको छ । बेरुतमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई मध्यपूर्वमा बढ्दो बढ्दो तनावबारे जानकारी गराउँदै कुनै पनि टिकट लिएर अमेरिका फर्किन भनेको हो ।

इरानले गत बुधबार तेहरानमा हमास प्रमुख इस्माइल हानियाहको हत्याको लागि इजरायलको विरुद्धमा कठोर बदला लिने चेतावनी दिएपछि मध्यपूर्वमा थप युद्धको खतरा बढेको छ । इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रको हत्या गरेको केही घण्टापछि हमास प्रमुख इस्माइलको हत्या भएको थियो ।

हिजबुल्लाहले शनिबार उत्तरी इजरायलको बेइट हिलेल सहरमा दर्जनौँ रकेट प्रहार गरेको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएको फुटेजमा वायु रक्षा प्रणालीले मिसाइललाई रोकिरहेको देखाएको छ। हताहतको कुनै जानकारी प्राप्त भएको छैन ।

इरानको रिभोलुसनरी गार्ड कोर्प्स ९आईआरजीसी० ले हमासका राजनीतिक प्रमुख इस्माइल हनियाहलाई तेहरानस्थित उनको गेस्टहाउस बाहिरबाट प्रहार गरिएको छोटो दूरीको प्रक्षेपणमा मारिएको दाबी गरेको छ ।उता, जोर्डनले पनि आफ्ना देशका नागरिकलाई तत्काल लेबनान छाड्न आदेश दिएको छ । जोर्डनको विदेश मन्त्रालयले एक सूचना जारी गर्दै आफ्ना नागरिकलाई देश फर्किन र लेबनानको भ्रमणमा नजान भनेको छ ।

यसैगरी, क्यानाडाले पनि आफ्ना नागरिकहरूलाई इजरायलको यात्राबाट बच्न चेतावनी दिएको छ । इरानको सम्भावित आक्रमणबाट इजरायललाई जोगाउन अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र लडाकु विमानहरू तैनाथ गरेको छ ।