मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काम ठप्प पारेर दूरसञ्चार प्राधिकरणका कर्मचारी धर्नामा

काम ठप्प पारेर दूरसञ्चार प्राधिकरणका कर्मचारी धर्नामा

न्यूजस्टोरी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूले संस्थागत सुधारका लागि तेस्रो चरणको आन्दोलन थालेका छन् । प्राधिकरणको स्वतन्त्र कर्मचारी युनियनमा आबद्ध कर्मचारीहरूले विभिन्न समयमा पेश गरेका मागहरू सुनुवाइ नभएको भन्दै बुधवारदेखि कार्यालय परिसरमा धर्ना दिएका हुन् ।

पहिलो चरणमा कर्मचारीहरूले चार दिनसम्म कालो ब्यानर तथा कालो पट्टी बाँधेर विरोध जनाएका थिए भने दोस्रो चरणमा दुई दिनसम्म पेन डाउन गरेका थिए । यस अवधिमा पनि माग सुनुवाइ नभएपछि प्राधिकरणको कार्य सम्पूर्ण रूपमा ठप्प पार्दै कार्यालय प्रमुखको कार्यकक्षअघि धर्ना दिएका हुन् । धर्नाको कार्यक्रम एक हप्तासम्म सञ्चालन हुने बताइएको छ । माग सम्बोधन नभए कर्मचारीहरूले कार्यालय प्रमुखलाई कार्यालय प्रवेश निषेध गर्नेसम्मका कार्यक्रम राखेका छन् ।

कर्मचारीहरूले प्राधिकरण व्यवस्थापनसमक्ष चार बुँदे माग राखेका छन् । पहिलो र महत्त्वपूर्ण माग कार्यकक्षको प्रतिकूल वातावरणसँग सम्बन्धित छ । यसअघि कमलादीमा रहेको कार्यालय तीन वर्षअघि राष्ट्रिय नाचघर जमलमा सारिएको थियो । नाचघरको भुइँतला र पार्किङमा अक्सिजनको कमी र कार्बनडाइअक्साइड धेरै हुँदा कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यमा जोखिम भएकाले कर्मचारीहरूले समस्या समाधान गर्न आवाज उठाएका थिए।

प्राधिकरणको भवनमा कार्य सम्पादनका दृष्टिकोणले उचित र पर्याप्त अक्सिजन र प्रकाशको न्यूनतम मापदण्ड समेत नपुगेको भन्दै अधिकांश कर्मचारीहरूमा स्वास्थ्य समस्या देखिएको गुनासो गरिएको छ । त्यस्तै, कर्मचारीहरूले प्राधिकरणको आफ्नै स्वामित्वको घर जग्गा तथा भवन निर्माण कार्यको सुनिश्चितता गर्न माग राखेका छन्। कर्मचारीहरूसँग सम्बन्धित नीति, नियम, गुरुयोजना, पदपूर्ति तथा ओ एन्ड एम सर्भे लगायतका विषयहरूमा कर्मचारीहरूको हक, हित, उत्प्रेरणा, पूर्वानुमानयोग्य वृत्ति विकास सुनिश्चितता हुने गरी तत्काल अगाडि बढाउन पनि माग गरिएको छ ।