काठमाडौं । दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा कम्तीमा ४३ जनाको ज्यान गएको छ ।
पहिरोमा परी दर्जनौँ मानिस फसेको आशङ्का गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीको समाचारमा जनाइएको छ ।पहिरोबाट मंगलवार दिउँसोसम्म १०० जना जतिको उद्धार भएको सुरक्षा अधिकारीहरूले बताएका छन्खोज तथा उद्धार कार्यका लागि २०० भन्दा बढी सैनिक तैनाथ गरिएको बताइएको छ ।
प्रभावित स्थानमा खोज तथा उद्धार अभियान चलिरहेको छ । तर ठूलो वर्षा तथा एउटा महत्त्वपूर्ण पुल भत्किएका कारण उद्धारकार्य प्रभावित भएको बताइएको छ ।.केरलाका मन्त्री एके शशीन्द्रनले क्षतिको विवरण आउन अझै केही समय लाग्ने बताएका छन् । केरलाकी स्वास्थ्यमन्त्री वीणा जर्जले स्थानीय अस्पतालहरूमा कम्तीमा ७० जना घाइतेलाई लगिएको बताएकी छिन् । भारतको दक्षिणी तटीय राज्य केरलामा वर्षाका कारण वायनाड जिल्लास्थित घटनास्थलको प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा केरला सरकारलाई विपद्को अवस्थामा सम्भावित सबै सहयोग गर्ने बताएका छन् । केरलाको वायनाडका विभिन्न स्थानमा मंगलवार सबेरै पहिरो गएको थियो ।


प्रतिक्रिया