मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडकमा पहिरोसहित खसेको ढुङ्गाले बेनी–जोमसोममा  सडक अवरुद्ध

सडकमा पहिरोसहित खसेको ढुङ्गाले बेनी–जोमसोममा  सडक अवरुद्ध

न्यूजस्टोरी

बेनी । सडकको बीचमा पहिरोसहित खसेको ठूलो ढुङ्गाले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानैदेखि अवरुद्ध बनेको छ ।

रघुगंगा गाउँपालिका–२ सिरुबारीमा शुक्रबार बिहान खसेको पहिरो र ठूलो ढुङ्गा सडकको बीच भागमा थुप्रिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सवइञ्जिनियर सोहनजंग कार्कीले सडकको बीच भागमा रहेको ठूलो ढुङ्गा फुटाउन ब्रेकरसहितको डोजर परिचालन गर्न लागिएको बताए ।

‘लोडरले पहिरो र ब्रेकरले ढुंगा फुटाउने तयारी गरेका छौं,’ उनले भने, ‘सडकमाथिको पहिरोमा रहेको ढुंगा रातको समयमा खसेर क्षतिको जोखिम टरे पनि फुटाउन समय लाग्ने भएकाले शुक्रबार तत्काल यातायात सञ्चालन गर्न चुनौति छ ।’
स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदुरहरू पहिरो र ढुङ्गा पन्छाउन परिचालन भएका छन् । करिब ५०० मिटर माथिदेखिको जमिन बगेर सिर्जना भएको सिरुबारीको पहिरो स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको नयाँ चुनौती बनेको छ ।

७४ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै तीर्थयात्री र पर्यटकहरूलाई समस्या भएको छ ।