काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगाएको छ । शुक्रबार बिहान करिब साढे ३ बजे तिर चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोले दुई वटा बस बगाएको हो । विरगन्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भेषराज रिजालले जानकारी दिए । प्रहरीका अनुसार बसमा २२ यात्रु सवार थिए ।
त्यस्तै काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ । सो बसमा ४२ यात्रु रहेको अनुमान छ । बस बगाएको खबर लगत्तै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पहिरोले बगाएका दुईवटै बस नारायणी नदीमा बेपत्ता भएको रिजालले जानकारी दिए।
पहिरोको कारण राजमार्गको दुई तर्फी आवागमन रोकिएको छ । हराएका दुवै बस भेटिएको छैन । सुरक्षाकर्मीको टोलीले हराएको बस खोजी गरिरहे पनि खोजी गर्न समस्या भएको छ । दुवै बसमा भएका करिब ५० यात्रु पनि सम्पर्कबाहिर छन् ।


प्रतिक्रिया