बाजुरा । बाजुरामा नुन किन्न मानिसको भीड लागेको छ । नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भीड लागेपछि साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरा डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको छ ।
कार्यालय प्रमुख टेकबहादुर बुढाले जिल्लाका तीन वटै क्षेत्रमा नुनको आवश्यक मौज्दात यथावत् रहेको बताउनुभयो । उहाँले वर्षायाममा नुन ढुवानीमा समस्या हुने गरेकाले आइतवार मात्रै बिक्री गर्ने गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मार्तडीमा दुई सय ७३ क्विन्टल, कोल्टीमा तीन सय ८७ क्विन्टल र मौरेमा ७५ क्विन्टल नुन मौज्दात छ ।
अभावको हल्ला फैलिएपछि एकै घरका चार जनासम्म नुन लिन आएको पाइएको छ । स्थानीय गोरख धामीले नुनको अभावको कुरा सुनेपछि आफू लाइन बस्न आएको बताउनुभयो । बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पनि नुनको अभाव नभएको भन्दै भीड नगर्न आग्रह गर्नुभएको छ ।


प्रतिक्रिया