काठमाडौं । योजनाबद्ध चोरी र डकैतीसम्बन्धमा अनुसन्धान गर्ने क्रममा प्रहरीमा एउटा गम्भीर घटनाको उजुरी आयो । घटना थियो– गएको जेठ २७ गते टोखास्थित श्रीटोलमा पुष्पा पौडेलको घरमा भएको चोरी ।
चोरले सुनचाँदीका गरगहना, ल्यापटप, मोबाइललगायत करिब २५ लाख ८० हजार मूल्य बराबरका सामान चोरी गरेको थियो । लगत्तै पौडेल उजुरी लिएर प्रहरी वृत्त महाराजगञ्ज पुगिन् ।त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाको अनुसन्धान शुरू गर्यो । अनुसन्धानका क्रममा पक्राउ परे बैतडीका निराजन महरा ।
महरालाई नियन्त्रणमा लिँदा उनी लागुऔषधको नशामा थिए । महरासँगै काभ्रेकी मनिका लामा पनि थिइन् । लामा पनि नशामै भेटिइन् । zसोधपुछका क्रममा खुल्यो– ताला लगाएको देखेपछि उनी त्यसलाई फोरेर पौडेलको कोठामा छिरेका रहेछन् । अचम्म त तीन तल्ले घरमा भुइँतल्ला र माथिल्लो तल्लामा मानिसको चहलपहल हुँदाहुँदै महराले बीचको तल्लामा रहेको कोठाको ताला फलामे रडको सहाराले तोडेका थिए ।
महरा र लामालाई दिनकै गोटी (लागुपदार्थ) खाने बानी परेको थियो । उनीहरूले पौडेलको घरबाट चोरी गरेका समान भारतको मोतिहारी घर भई काठमाडौंको ओमबहाल बस्ने सेफ अली आलमलाई बिक्री गर्दै आएका थिए ।आलमलाई चोरीको समान बुझाएपछि उनले मूल्य कायम गरेर दिनकै ५ देखि ७ हजार रुपैयाँ महरालाई दिँदै आएका थिए । महरासँगै प्रहरीले आलमलाई पनि पक्राउ गरेको छ ।
बयानका क्रममा आलमले महराबाट लिएको सुन भारतको पश्चिमबंगाल हावडा घर भई काठमाडौंको संकटा बस्ने सुजितकुमार करलाई बिक्री गर्दै आएको तथ्य खुल्यो । प्रहरीले करलाई नियन्त्रणमा लिँदा उनले सुन गालिसकेका थिए ।
अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार महरा र लामा कलंकीस्थित ुकलंकी मेची गेस्ट हाउसुमा बस्दै आएका थिए ।
‘महरा दिउँसो भाडामा लगाएका घरहरूमा छिर्ने र ताला लगाएको कोठा देखेपछि फोरेर गरगहना, पैसा, ल्यापटपलगायत तुरुन्त बिक्री हुने समान लिएर भाग्ने गरेको देखियो,’ एसपी जिसीले भने, ‘लामा भने मतियारको रूपमा कोठाबाहिर रेकी गरेर बस्ने गरेको अनुसन्धानबाट खुलेको छ ।’
अनुसन्धान कार्यालयको चोरी पिलर हेर्ने एक अनुसन्धान अधिकृतका अनुसार लागुऔषध सेवनकै क्रममा महराको भेट लामासँग भएको थियो । दुवैले पहिलेदेखि नै लागुऔषध सेवनका लागि चोरी गर्दै आएका थिए ।
प्रहरीले आलमको कोठाबाट एउटा ल्यापटप बरामद गरेको थियो । ल्यापटप खोलेर हेर्दा मनिष पौडेलको नाममा रहेको पत्ता लाग्यो । प्रहरीले ल्यापटबाटै कलंकी बस्ने मनिसको नम्बर पत्ता लगाएर फोन गर्दा उनी अकमक्किए । भाइलाई सोधेर बताउँछु भने । भाइले चलाउँदै आएको उक्त ल्यापटप चोरी भएको उनीहरूले थाहा पाएका रहेनछन् ।
अर्को रोचक तथ्य के भने महरालाई सामानहरू कुन कहाँबाट चोरेर ल्याएको भन्ने पत्तो समेत नहुने रहेछ ।‘हामी दुवै ९मनिकासहित० चोर्न जान्थ्यौं, चोरी गरेर आएपछि समान आलमलाई दिन्थ्यौं, उसले खटाएर पैसा दिन्थ्यो,’ बयानका क्रममा उनले बताएको कुरा उल्लेख गर्दै एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘बिहानैदेखि गोटी खाएपछि चोरी गर्न आनन्द आउँथ्यो ।’
महारजगञ्ज बस्ने विशेष प्याकुरेलको डेराबाट पनि महरा र लामाले सुनका गरगहना र ल्यापटप चोरी गरेका थिए । प्याकुरेल बाहिर गएका बेला ढोकामा लगाएको ताला फोरेर चोरी गरेको प्याकुरेलले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेका छन् ।
‘महरा र लामा पटके चोर हुन्, उनीहरूले लागुऔषध सेवन गर्नकै लागि चोरी गर्ने गरेको बुझियो,’ एसपी जिसीले भने, ‘अन्य ठाउँमा पनि चोरी भएको छ । उनीहरूको थप संलग्नताबारे अनुसन्धान गर्दैछौं ।’
अनुसन्धान कार्यालयले पीडित चारैजनाबाट जाहेरी लिएर महरा र लामासँगै सामान खरिद गर्ने र सुन गाल्ने गरी ४ जनाविरुद्ध मुद्दा चलाउन जिल्ला परिसर काठमाडौंमा पठाएको जानकारी एसपी जिसीले दिए ।


प्रतिक्रिया