काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसको बीचमा गबठन्धन भए अन्य राजनीतिक दलहरुले निर्वाचनमा पराजित गर्न नसक्ने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
उनले घात, अन्तर्घात हुने भयले अन्य राजनीतिक दलहरुबीच गठबन्धन हुने गरेको भएपनि काँग्रेसको बीचमा गठबन्धन गरेको खण्डमा कुनैपनि राजनीतिक दलले हराउन नसक्ने जिकिर गरे ।
‘प्रदेश र संघ संसदको बीचमै प्रतिष्पर्धा गराइ अघि जानुपर्छ । त्यसमा तपाईंहरु तयार हुनुहुन्छ भन्ने म विश्वस्त छु । घात अन्तर्घात हुन्छ भनेर हामी गठबन्धन गरिरहेका छौं, राजनीतिक दलहरुको बीचमा,’ उनले भने,‘मलाई के लाग्छ भने नेपाली काँग्रेस आफैँ पनि सक्षम छ । हामी हाम्रो बीचमा गठबन्धन गरौँ । नेपाली काँग्रेसको बीचमा गबठन्धन गर्ने हो भने हामीलाई कुनैपनि शक्तिले हराउन सक्दैन । अन्य दलहरुसँग गठबन्धन गर्नै पर्दैन ।’
उनले महिलाहरु लैङ्गिक प्रतिनिधित्वमा राजनीतिक प्रतिनिधित्व भन्दा माथि उठ्न नसकेको बताए । उनले राजनीतिकसँगै आर्थिक, सामाजिक प्रतिनिधित्वमा पनि त्यत्तिकै सबल र सक्षम हुनुपर्ने बताए । उनले अबको निर्वाचनमा महिलाहरुलाई स्थानीय तहमा नेपाली काँग्रेसले प्राथमिकता दिएर पालिकाको अध्यक्षमा धेरै सिटहरु माहिलालाई दिन जरुरी रहेको बताए ।
‘लैङ्गिक प्रतिनिधित्वको कुरा गर्दा हामी राजनीतिक प्रतिनिधित्व भन्दा माथि उठ्नै सकिरहेका छैनौँ । तपाईंहरुसँग कुरा गर्दा हाम्रो राजनीतकि प्रतिनिधित्व भएन भन्ने मात्रै पाउँछौँ, उनले भने, ‘आर्थिक प्रतिनिधित्व, सामाजिक प्रतिनिधित्वको कुरामा तपाईंहरु पनि चुक्नुभएको छ जस्तो लाग्छ । यो विषयमा छलफल गरी रणनीति तयार गरेर अघि बढ्नुहोला ।’ नेता कोईरालाले महिलाहरुलाई प्रदेश र संघ संसदको बीचमै प्रतिष्पर्धा गराइ अघि बढ्न आवश्यक रहेको बताए ।


प्रतिक्रिया