मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माधवलाई टक्कर दिँदै झलनाथ, भन्छन्- टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन हुँदैन

माधवलाई टक्कर दिँदै झलनाथ, भन्छन्- टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन हुँदैन

न्यूजस्टोरी

काठमाडौं । नेकपा एकीकृत समाजवादी महाधिवेशनको तयारीमा जुटेको छ । उक्त पार्टीले आगामी ५ असारमा महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको हो । आगामी १६ देखि २० असारमा काठमाडौंमा हुने दशौँ महाधिवेशनका लागि देशभर एकै दिन महाधिवेशन प्रतिनिधि छनोट गर्न लागिएको छ ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्वको जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषय बहसमा रहेको बेलामा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन गर्न नसकिने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित अनेमसंघ समाजवादीको मुख पत्र विमोचन कार्यक्रममा उनले भने,‘सहमति केका आधारमा हुन्छ ? टाउका जोडेर कि अंकमाल गरेर ? महाधिवेशनमा वैचारिक कार्यदिशा, नीति र सिद्धान्तमा आधारित भए सहमतिको आधारमा मात्र नेतृत्व चयन सकिन्छ ।’

अध्यक्ष माधवकुमार नेपाल पुनः नेतृत्वमा दोहोरिन चाहेको बताइन्छ भने सम्मानित नेता खनाल र महासचिव घनश्याम भुसालले पनि अध्यक्षमा उठ्न सक्ने कुराहरू आइरहेकाबेला खनालले त्यस्तो बताएका हुन् । 

कार्यक्रममा उनले अगाडि थपे, ‘महाधिवेशनबाट चार वटा दस्ताबेज पास गर्नेछौँ । दस्ताबेजमा छलफल भइरहेको छ । सुझाव आइरहेका छन् । अहिलेका मस्यौदा दस्ताबेजलाई अझै परिष्कृत गरेर पारित गर्छौँ । सहमतिको साथ नेतृत्व निर्माण गर्नुपर्छ । तर सहमति भनेको के ? सहमति केका आधारमा हुन्छ ? हामीले टाउका जोडेर हुन्छ कि ? अंकमाल गरौँ कमरेडहरू भनेर हुन्छ कि ? के ले एकता गर्छ ? हामी जुटेको भनेकै एउटा वैचारिक राजनीतिक कार्यदिशा, आधारमा नीति, सिद्धान्त र लक्ष्यका आधारमा हो ।’

खनालले संविधान निर्माणको प्रक्रिया पार गरेपछि प्रक्रियालाई अगाडि बढाउने सिलसिलामा समाजवादी कार्यक्रम अगाडि सार्न नसकेको बताए । कम्युनिष्ट आन्दोलनले नै समाजवादी कार्यक्रम अगाडि सार्न नसकेको समाजवादी कार्यक्रम लामो समयपछि पार्टीको महाधिवेशनबाट अगाडि सार्न लागेको उनको भनाई छ ।