मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एलपी ग्यास बोकेका सयौँ बुलेट भन्सार बिन्दुमा रोकिए

एलपी ग्यास बोकेका सयौँ बुलेट भन्सार बिन्दुमा रोकिए

न्यूजस्टोरी

काठमाडौं । सरकारले बजेटले लिएको कर नीतिका कारण खाना पकाउने एलपी ग्यास ढुवानी  गर्ने प्रति बुलेट १५ सय कर लगाएको थियो । यही नीतिका कारण आइतबारदेखि भन्सार बिन्दुमा एलपी ग्यास बोकेका सयौँ भारतीय सवारी (बुलेट) रोकिएका छन् ।

जसकारण, आन्तरिक बजारमा ग्यास आपूर्तिको शृङ्खला नै प्रभावित बन्ने जोखिम बढेको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ बजे घोषणा गरेको बजेटमार्फत ग्यास ढुवानी गर्ने सवारी नेपाल छिर्दा प्रत्येक पटक १ हजार ५०० रुपैयाँका दरले कर तिर्नुपर्ने व्यवस्था गरेका थिए । सो व्यवस्थाअनुसार भारतीय सवारीले स्वयं कर बुझाउँदै आएका थिए । तर आइतबारदेखि भन्सार कार्यालयले प्रज्ञापनत्रपमा नै यो करलाई समावेश गरेपछि आयात प्रक्रिया रोकिएको हो ।

नेपाल आयल निगमले समेत ग्यास बोकेका बुलेट भन्सार बिन्दुमा रोकिएको स्वीकार गरेको छ । निगमका प्रबन्ध निर्देशक चण्डिका भट्टले आइतबारदेखि रोकिएको रातोपाटीलाई बताए । ‘बजेटमार्फत लागेको करको प्रक्रिया नमिल्दा रोकिएको जाँचपास रोकिएको हो,’ भट्टले भने, ‘यो प्रक्रिया मिलिसक्यो । अब सुचारु हुने प्रक्रियामा छ ।’ यसअघि चालू आर्थिक वर्षसम्म ग्यास ढुवानी गर्ने बुलेट ७२ घण्टासम्म निःशुल्क नेपाल बस्न पाउँथे । आगामी आर्थिक वर्षको बजेटमार्फत भने अर्थमन्त्री वर्षमान पुनले ग्यास ढुवानी गर्दा प्रति बुलेट १५ सय रुपैयाँ कर लगाए । 

यो व्यवस्थाअनुसार कर कसले तिर्ने र कसरी तिर्ने भन्ने प्रक्रिया नमिल्दा भन्सार नाकामा नै ग्यास बुलेट रोकिएका हुन् । छिटो जाँचपास सुचारु नभएमा आपूर्ति प्रणाली नै खलबलिन सक्छ ।सरकारी नीतिसँगै ग्यास ढुवानी गर्ने सवारी जुन नाकाबाट नेपाल छिरेको हो, त्यही नाकाबाट ९६ घन्टामा गइसक्नुपर्छ । यसअघि भारतीय सवारी नेपाल छिर्न परमिट लिन मात्रै रकम बुझाउनुपर्थ्यो । ग्यास ढुवानी गर्ने सवारीलाई थिएन । यो नीतिमार्फत सरकारले करोडौँ रुपैयाँ कर असुल्ने लक्ष्य लिएको छ ।

निगमका अनुसार नेपालमा मासिक ४५ हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास खपत हुन्छ । ग्यास ढुवानी गर्ने बुलेटमा १८ मेट्रिक टन र २१ मेट्रिक टनको हुन्छन् । १८ मेट्रिक टन क्षमताको बुलेटलाई आधार मान्दा नेपालको माग धान्नेगरी ढुवानी गर्न २५ सय सवारी चाहिन्छ । यसलाई आधार मान्दा प्रतिपटक १५ सय रुपैयाँका दरले मासिकरुपमा ३७ लाख ५० हजार रुपैयाँ कर संकलन हुन्छ । यस्तै वार्षिकरुपमा राज्यकोषमा ४५ करोड रुपैयाँभन्दा बढी कर संकलन हुन्छ ।