मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्य तराईमा तातो हावासहित ‘लू’ चल्न थाल्यो, तत्काल पानी नपर्ने मौसमविदको भनाइ

मध्य तराईमा तातो हावासहित ‘लू’ चल्न थाल्यो, तत्काल पानी नपर्ने मौसमविदको भनाइ

न्यूजस्टोरी

काठमाडौं ।मध्य तराईका विभिन्न ठाउँमा तातो हावासहित ‘लू’ चल्न थालेको छ । गर्मी बढेसँगै तापक्रम बढेर ४० डिग्रीभन्दा माथि पुग्ने र तातो हावा चल्न थालेपछि यसलाई ‘लू’ भनिन्छ ।

अहिले मधेस प्रदेश र लुम्बिनी प्रदेशमा तापक्रम बढ्दो क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नवलपरासीको दुम्कौलीमा तापक्रम ४३ डिग्री सेल्सियस पुगेको छ । भैरहवा, सिमरा, जनकपुर र गौरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ । भैरहवा र सिमरामा ४० दशमलव ५ तथा जनकपुरमा ४० दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ । नेपालगञ्जमा उच्चतम तापक्रम ३८ दशमलव ८ र विरेन्द्रनगरमा ३६ दशमलव ८ रहेको छ ।

तापक्रम उच्च भएका तराईका क्षेत्रमा अझै केही दिन पानी पर्ने सम्भावना छैन । उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्दो रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ । तातो हावा तथा ‘लू’ का कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने गर्छ ।

‘लू’ तथा गर्मीको समस्याबाट बच्न गर्मीको समयमा सकेसम्म बाहिर ननिस्कन, हल्का लुगा लगाउन, बाहिर निस्कनै परे टाउको छोप्ने, टोपी लगाउन, पटक–पटक पानी तथा जुस, सर्वतलगायतका झोलपदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा तत्कालै स्वाथ्यकर्मीसँग सम्पर्क गर्न डाक्टरको सुझाव छ । ‘लू’ लाग्नुको प्रमुख कारण शरीरमा नुन र पानीको कमी हुनु हो ।

त्यस्तै काठमाण्डौमा तापक्रम उच्चतम ३२ डिग्री सेल्सियस रहेको छ । काठमाण्डौमा पनि अझै केही दिन पानी पर्ने सम्भावना नरहेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो । अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा रहेको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।