मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा एमाले संसदको अवरोध हटाउन सहमत, माओवादीका सांसद दाहालको भनाई रेकर्डबाट हट्ने

नेकपा एमाले संसदको अवरोध हटाउन सहमत, माओवादीका सांसद दाहालको भनाई रेकर्डबाट हट्ने

न्यूजस्टोरी

काठमाण्डौ । नेकपा एमाले संसदको अवरोध हटाउन सहमत भएको छ । पशुपतिनाथको मन्दिरमा सुनको जलहरीमा भएको अनियमितताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको बैठकमै स्पष्ट पार्ने भएपछि नेकपा एमाले अवरोध हटाउन तयार भएको हो ।

संसदको अवरोध हटाउने विषयमा आज बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य शीर्ष नेताहरुबीच भएको छलफलमा जलहरीबारे माओवादीका सांसद राजन दाहालले बोेलेको विषय संसदको रेकर्डबाट हटाउने र यस विषयमा प्रधानमन्त्री प्रचण्डले पनि बैठकमै स्पष्ट पार्ने सहमति भएको छ ।

संसद बैठक आज दिउँसो ४ बजेको लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने कार्यसूची छ । प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ ।

गएको बुधबारको बैठकमा माओवादीका सांसद दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा देशमा भ्रष्टाचारका थुप्रै काण्ड भएको र पशुपतिनाथमा सुनको जलहरी लगाउने भनेर पित्तल लगाएको आरोप लगाउनुभएको थियो । दाहालको आरोपमा आपत्ति जनाउँदै एमालेले हिजो प्रतिनिधिसभाको बैठकमा नाराबाजी गर्दै बैठक चल्न दिएको थिएन ।