मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाउने तयारी

सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाउने तयारी

न्यूजस्टोरी

काठमाडौं, ५ बैशाख । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् । प्रदेश प्रमुख नाजिर मियाँले मुख्यमन्त्रीका लागि यसअघि परेका दुवै दाबी अस्वीकृत गर्दै भोलिसम्मको समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नुभएको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतवार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा तथा नागरिक उन्मुक्तिकै रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले माओवादी र एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

मुख्यमन्त्रीले दुवै दाबी अस्वीकृत गरेपछि सत्तारुढ गठबन्धनको सहमतिअनुसार एकीकृत समाजवादीका सोडारीले अर्को दाबी पेश गर्ने तयारी भएको छ । सुदूरपश्चिमका कारण केन्द्रको सत्ता गठबन्धन पनि अप्ठ्यारोमा पर्नसक्ने जोखिम बढेपछि प्रधानमन्त्री प्रचण्डले हिजो बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग कुरा गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने प्रतिबद्धता जनाएपछि समाधान निकालिएको हो । अहिले एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनाउने, त्यसपछि नागरिक उन्मुक्तिको नेतृत्वमा सरकार बनाउने प्रस्तावमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सकारात्मक भएपछि सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्रीको दाबी र समर्थनलाई लिएर केन्द्रीय सत्ता समीकरणसम्मै देखा परेको सङ्कट तत्कालका लागि टरेको छ ।