शेखर छतकुली
वीरगंज, ३० चैत्र । पर्सा प्रहरीले एक महिनाको अवधिमा ५ करोड ८७ लाँख रुपैयाँ बराबरको भन्सार छलीका सामग्री नियन्त्रणमा लिएको जनाएको छ । पर्साका विभिन्न नाकाहरुमा कडाई गरि प्रहरीले एक महिनाको अवधिमा चोरी पैठारी गरि भित्राएका अवैध सामग्री ५ करोड ८७ लाख ३६ हजार ७९९ रुपैया बराबरको बरामद गरि वीरगन्ज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा दाखिला गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेलको भनाइ छ ।
पर्सा प्रहरीले राजस्व अभिवृद्धी तथा भन्सार चोरी पैठारी न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी कार्यालयबाट परिचालन भएको टोलीले चैत्र महिनामा १ करोड २३ लाख ४६ हजार ४९९ रुपियाँँ बराबरको लत्ताकपडा बरामद गरेको पनि प्रहरी उपरीक्षक ढुंगेलले बताउनुभयो ।
उपरीक्षक ढुंगेलका अनुसार एक महिनामा पर्साका विभिन्न स्थानबाट रू. १ करोड २३ लाख ४६ हजार ४ सय ९१ रुपियाँ बराबरको लत्ता कपडा बरामद गरिएको छ भने, सोही अवधिमा १ करोड १० लाख ८७ हजार ७१० रुपियाँँ बराबरका सवारी साधन तथा पार्टपुर्जा समेत बरामदका साथै १ करोड ४२ लाख २३ हजार ९१७ रुपियाँँ बराबरका किराना तथा खाद्यान्न सामग्री पनि बरामद गरिएको छ ।
त्यसैगरि, २ करोड १० लाख ७८ हजार ६८१ रुपियाँँ बराबरको विद्युतीय सामग्री बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
नियन्त्रणमा लिइएका सामग्री चैत ३० गते वीरगञ्ज भन्सार कार्यालयसँगै राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको ढुंगेलले जानकारी दिनुभयो ।


प्रतिक्रिया