भक्तपुर, २० चैत – मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै हुनुहुन्छ ।
नवौँपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आउनुभएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले आफ्ना कान्छा छोरा सुजनलाई गत वर्ष जिब्रो छेडाएर पुस्तान्तरण गर्नुभएको थियो ।
कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उहाँका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएकामा यस वर्ष बुद्धकृष्णका कान्छा छोराले दोस्रोपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन लाग्नुभएका स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुत्केरो परेकालाई छुन नहुने, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने सुजनका बुबा बुद्धकृष्णले बताउनुभयो ।
जात्राअघि चैत २७ गते जिब्रो छेड्ने व्यक्तिले नाय पमाःको घरमा पुगेर नाय पमाः, कर्मी नायलगायतलाई चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै सोही दिन जात्राको व्रत प्रारम्भ गर्ने परम्परा छ ।
जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवी–देवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने चलन छ ।
जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महाद्वीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाइन्छ ।


प्रतिक्रिया