काठमाडौं, ३० फागुन । प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत पाउनुभएको छ । आज बुधवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमा उहाँले विश्वासको मत पाउनुभएको हो ।
नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५५ बमोजिम उहाँले आज पेस गर्नुभएको प्रस्तावका पक्षमा एक सय ५७ र विपक्षमा एक सय १० मत खसेको हो । मत विभाजन प्रक्रियामा एक मत दिन्न भन्नेमा खसेको थियो ।
मतविभाजन प्रक्रियामा जम्मा दुई सय ६८ सांसद सहभागी थिए । बैठकमा सभामुख देवराज घिमिरेले मत विभाजन परिणाम सुनाउँदै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त भएको जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्रीले यही फागुन २१ गते नयाँ सत्ता गठबन्धन बनाएपछि उहाँलाई समर्थन गरेको दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको थियो । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।
प्रधानमन्त्री प्रचण्डले १५ महिनामा तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको हो ।


प्रतिक्रिया