पक्राउ पर्नेमा ३ जना नेपाली
शेखर छत्कुली
वीरगञ्ज १८ माघ । २५ लाख नक्कली नेपाली रुपैयाँ सहित १० जनालाई भारतिय प्रहरीले पक्राउ गरेको छ।
बिहार–नेपाल सीमामा अवस्थित रक्सौलको हरैया थाना प्रहरीले विशेष अपरेसन सञ्चालन गर्दै २५ लाख नक्कली नेपाली रुपैयाँ र १८ हजार ५ सय नक्कली भारतीय रुपैयाँसहित १० जना अभियुक्तलाई पक्राउ गरेको हो।
छिमेकी मुलुक भारतको रक्सौल सुरक्षा निकायले गरेको छापामारीका क्रममा करिब २५ लाख रुपैयाँ बराबरको नक्कली नेपाली नोट, १८ हजार ५ सय नक्कली भारतीय रुपैयाँ, नोट छाप्ने हाई–टेक मेसिन, विशेष कागज, रसायन तथा अन्य सामग्री बरामद गरिएको भारतिय प्रहरीले जनाएकोछ।
यस घटनामा संलग्न १० जना अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ जसमा ३ जना नेपाली नागरिक समेत रहेको भारतिय प्रहरीले जनाएको छ।
निर्वाचनलाई लक्षित गरी नेपालमा नक्कली नोट भित्र्याउने योजना
प्रहरीका अनुसार बरामद गरिएको नक्कली नेपाली रुपैयाँ नेपालमा आगामी निर्वाचनलाई लक्षित गरी प्रयोग गर्ने योजना बनाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
नक्कली नोट कारोवारीहरुको गिरोहले सीमावर्ती क्षेत्र प्रयोग गर्दै नक्कली नोट नेपाल भित्र्याउने तयारी गरिरहेको आशंका गरिएको छ।
छापामारीका क्रममा तीन वटा मोटरसाइकल र एक कार समेत बरामद गरिएको छ। सुरक्षा निकायले गिरोहका अन्य सदस्य र यसका मुख्य योजनाकार ९मास्टरमाइन्ड० को खोजी तीव्र बनाएको जनाएको छ।
नेपालमा आसन्न निर्वाचनको सरगर्मी बढिरहेका बेला सीमावर्ती भारतीय बजार रक्सौलमा प्रहरीले नक्कली नोटको ठूलो र्याकेटको पर्दाफास गर्दै नेपालको अर्थतन्त्र र निर्वाचनलाई प्रभावित पार्ने गम्भीर षड्यन्त्र विफल पारेको छ।
प्रहरीले नक्कली नोट कारोबार राष्ट्रिय सुरक्षा र आर्थिक स्थायित्वमाथिको गम्भीर खतरा भएकाले यस्ता गतिविधिमा संलग्न कसैलाई पनि नछोडिने स्पष्ट पारेको छ ।
यसैगरी, प्रहरीले तीन वटा मोटरसाइकल, एउटा चारपांग्रे सवारी साधन तथा नक्कली नोट छाप्न प्रयोग हुने कागज, केमिकललगायत संवेदनशील सामग्रीहरू पनि जफत गरेको छ।
घटनाको गम्भीरता स्पष्ट पार्दै रक्सौलका डीएसपी मनीष आनन्दले पत्रकार सम्मेलनमार्फत नेपालमा जारी रहेको बताएको छ ।
नेपालमा हुन गइरहेको निर्वाचन प्रक्रियामा मतदातालाई प्रलोभनमा पार्न यी नक्कली नोट प्रयोग हुने सम्भावना भएको भारतीय प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार, रक्सौलमा १८ हजार ५ सय नक्कली भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेपछि उनीहरूको बयानका आधारमा अनुसन्धान सीतामढी जिल्लाको मेजरगंजसम्म पुगेको थियो।
सोही स्थानमा नक्कली नोट छाप्ने कारखाना सञ्चालन भइरहेको र त्यहीँबाट सम्पूर्ण र्याकेट परिचालन भइरहेको रहस्य खुलेको प्रहरीले जनाएको छ।
नेपालको निर्वाचनको मुखैमा यति ठूलो परिमाणमा नक्कली नेपाली रुपैयाँ बरामद हुनुले सीमा सुरक्षा र नेपाल–भारतबीचको आपसी सहकार्यको महत्वलाई पुनः पुष्टि गरेको छ।
डीएसपी आनन्दका अनुसार, यस सफल कारबाहीले दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने ‘कोसेढुङ्गा’ सावित हुने विश्वास गरिएको छ।
सीमापारिबाट हुने आर्थिक चलखेल र आपराधिक गतिविधि नियन्त्रणमा भारतीय प्रहरीको सक्रियताले नेपालको निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन परोक्ष रूपमा महत्वपूर्ण सहयोग पुर्याएको छ। हाल पक्राउ परेका अभियुक्तहरूसँग थप सोधपुछ भइरहेको छ भने नक्कली नोटको सञ्जालमा संलग्न अन्य व्यक्तिहरूको खोजी भारतिय प्रहरीले तिब्र अनुसन्धान सुरु गरिएको जनाएको छ।


प्रतिक्रिया