शेखर छत्कुली
वीरगन्ज, १४ माघ । नेकपा एमालेका पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार युवा नेता प्रदीप यादवले मधेशको मुद्दा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका यादवले नेपालीहरूको सपना साकार पार्न सूर्य चिन्हमा मतदान गर्न मतदातासँग अपिल गरेका छन्।
आफ्नो क्षेत्रका मतदातासँग घरदैलो तथा भेटघाट कार्यक्रममा बोल्दै पूर्व खानेपानी मन्त्रीसमेत रहेका यादवले जेनजीको माग र भावनालाई कदर गर्दै जेनजीका सम्पूर्ण माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले विकास, रोजगारी र स्थायित्वका लागि नेकपा एमालेलाई समर्थन गर्न मतदाताहरुलाई आग्रह गरेका छन्।
जनताको मतले देशलाई सही दिशामा लैजाने विश्वास व्यक्त गर्दै यादवले आफू खानेपानी मन्त्री रहेको बेला पर्सा जिल्लाको वीरगन्जलगायत मधेशमा चापाकल सुक्ने र धारामा पानी नआएर हाहाकार भएको अवस्थामा पानीको समस्या समाधान गरी वारा–पर्साका जनताको घरघरमा पानी पुर्याएको बताएका छन्।
प्रतिनिधिसभा उम्मेदवार यादवले पर्सा–१ मा एमालेको संगठनात्मक शक्ति, जनसमर्थन र कार्यकर्ताबीचको एकताका कारण निर्णायक जित सुनिश्चित रहेको दाबी गरेका छन्।
चुनावी मैदानमा उत्रिएका यादवले आफू चुनाव जिते पनि नजिते पनि सधैँ जनताकै बीचमा बसेर काम गर्दै आएको बताएका छन्।
यादवले आफू अन्य उम्मेदवारजस्तो खाली चुनावका बेला मात्र मतदाताको घरमा पुग्ने नेता नभएको बताउँदै चुनावमा मात्र जनताको घरघर पुग्ने उम्मेदवारप्रति सावधान रहेर मतदान गर्न मतदातालाई अनुरोध गरेका छन्।
उनले पर्सा–१ मा एमालेप्रति जनआकर्षण बढ्दो क्रममा रहेको उल्लेख गर्दै पार्टीभित्रको एकता नै आफ्नो जितको मुख्य आधार भएको बताएका छन्। एमालेको संगठन विस्तार र प्रभावशाली नेताहरूको प्रवेशका कारण पर्सा–१ मा चुनावी वातावरण पूर्ण रूपमा एमाले पक्षमा रहेको यादवले दाबी गरेका छन्।
अन्त्यमा उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा एमालेलाई भारी बहुमतले विजयी गराउन मतदातासँग अनुरोध गरेका छन्।


प्रतिक्रिया