किरण कुँवर
चितवन, ४ माघ । पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा जारी १३औँ संस्करणको रत्ननगर महोत्सवमा आज सम्म तीनलाखले महोत्सव अवलोकन गरेका छन् ।
रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ बाट सुरु भएको महोत्सवमा हरेक दिन उल्लेख्य अवलोकन कर्ताको भिड बढ्दै गएको छ । महोत्सवमा माघ १ गते एकैदिन ४५ हजारले महोत्सव अवलोकन गरेको आयोजकको दावी छ । माघ २ गतेसम्म दुई लाखले अवलोकन गरेको सो महोत्सवमा तीन दिनमा एक लाखले अवलोकन गरेका हुन् ।
माघ २ गते ४० हजार, ३ गते ३० हजार र ४ गते ३० हजारले महोत्सव अवलोकन गरेको संघका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए । संघका कोषाध्यक्ष विनोद घिमिरेले महोत्सव अवलोकनकर्ताको संख्या बढ्दै जाँदा टिकट बिक्री पनि अपेक्षाकृत नै रहेको बताए ।
विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अवलोकन गर्ने र २५ करोड बढीको कारोबार हुने अनुमान गरिएको संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए । पर्यटन प्रवर्द्धनतर्फ खगरी खोलामा मोटरबोट सञ्चालन गरिएको छ ।
महोत्सवमा स्थानीय उतपादन महको बजारीकरणलाई प्रवर्द्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । महोत्सव माघ ६ गतेसम्म चल्ने छ ।


प्रतिक्रिया