शेखर छत्कुली
वीरगन्ज २४ पुष । पर्सा प्रहरीले ठुलो परिमाणमा लागु औषध चरेस सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले बिषेश चेकजाँचको क्रममा पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर २ गर्दौल नजिक पोखरिया जाने सडक खण्डबाट २२ किलो लागु औषध चरेश सहित दुइजनालाई नियन्त्रणमा लिएको हो ।
लागु औषध तस्करहरुले ध्यूको ग्यालेनभित्र माथीबाट घ्यु र तल चरेस लुकाएर भारत तर्फ तस्करी गर्ने दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताएकाछन् ।

लागु औषध चरेश सहित पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मुर्ली बस्ने बर्ष २० का रैयस अली र पर्साको पोखरिया नगरपालिका वडा नम्बर ८ जगतपुर बस्ने वर्ष ५५ का मुनिलाल पटेल रहेको पर्सा प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा बिहीबार बिहान इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले गर्दौल चोकको सडकमा २ वटा कालो झोला बोकेर जाँदै गरेका अली र पटे्लले बोकेको ग्यालिनलाई रोकेर चेकजाँच गर्ने क्रममा उनिहरुले
बोकेको कालो झोला भित्र राखिएको पानी खाने १० लिटरको ग्यालनको बिर्को खोलेर हेर्दा उक्त ग्यालनको मुखमा ध्यू रहेको र ध्यूमुनि चरेस लुकाएर राखिएको अवस्थामा भेटिएको पर्सा प्रहरीका प्रवक्ता कार्कीले जनाएका छन्।

चरेस सहित पक्राउ परेका अलीले बोकेको ग्यालेनबाट १० किलो ६०० ग्राम र पटेलले बोकेको ग्यालेनबाट ११ किलो ४०० ग्राम चरेस बरामद भएको प्रहरी नायब उपरीक्षक राजु कार्कीले जनाएका छन् ।
चरेससहित नियन्त्रणमा लिइएका अली र पटेललाई पर्सा प्रहरीले हिरासतमा राखी लागु औषध समबन्धि मुद्दा चलाउने तयारी भइरहेको र उनिहरु माथी थप अनुसन्धान भइरहेको कार्कीले बताएका छन्।


प्रतिक्रिया