मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सशस्त्र प्रहरी पर्साबाट करिव १२ जना सादा पोसाकमा प्रहरी परिचालन, एसपी पुरन चन्द भट्टले दिए तस्करीको लाईन

सशस्त्र प्रहरी पर्साबाट करिव १२ जना सादा पोसाकमा प्रहरी परिचालन, एसपी पुरन चन्द भट्टले दिए तस्करीको लाईन

न्यूजस्टोरी

शेखर छतकुली
वीरगञ्ज, ७ मंसिर । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षा सुदृढ पार्दै तस्करी नियन्त्रण गर्न पटक पटक निर्देशन दिँदै आए पनि, पर्सा जिल्लामा सशस्त्रका केही उच्च अधिकारी र कर्मचारीको संलग्नतामै तस्करी फस्टाउँदै गएको छ।

नेपाल भारत सिमानामा तस्करी बढेको समाचार प्रकासित हुनथाले पछी बदलिँदो सुरक्षा चुनौती र राजस्व चुहावट रोक्न वरिष्ठ उपरीक्षक (एसएसपी) लाई मुख्य सीमा नाकामा खटाएको भए पनि पर्सा नाकाबाट तस्करी रोक्न भने सशस्त्र प्रहरी असफल जस्तै भएको छ ।
मधेस प्रदेश अन्तर्गत, सशस्त्र प्रहरी बल नेपाल नं ८ गण, धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जमा एसएसपी माधवप्रसाद पौडेल तस्करी नियन्त्रण गर्न खटिएका छन्।
सशस्त्र प्रहरीका एसएसपी माधव पौडेल पर्सा जिल्लाको दैनिक र साप्ताहिक प्रतिवेदन मधेश प्रदेश बाहिनी मुख्यालयमा पेश गर्ने जिम्मेवारीमा छन्।

तर, पर्सामा सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी झनै बढेको स्रोतको दाबी छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका गणपती सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टले सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको नेतृत्वमा करिव ६ जना सादा पोसाकका घुमुवा प्रहरी तस्करीको समान स्कर्टिङ र अवैध रकम संकलनका लागि खटाईएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।
संकलित रकम गणपति भट्ट र छिन्नमस्ता बाहिनीका बाहिनीपति कृष्ण ढकाल सम्म पुर्‍याइने गरेको स्रोतको दावी छ ।

त्यस्तै, सुरक्षा वेश पोखरियाका डिएसपी शम्भु कटुवाले सशस्त्र प्रहरी जवान बिनय मण्डललाई सादा पोसाकमा घुमुवा परिचालन गराएका छन्।
घुमुवा मण्डल तस्करसँग उठतीपुठती, समान स्कर्टिङ र असुलीमा संलग्न रहेको स्रोतले जनाएको छ।

भारतीय बजार सिक्टासँग जोडिएको सबैठवा नाकाबाट कालिकामाई–२ भेडिहारीका भैला भने सत्रोहन रौनियार समूहले कपडा तस्करीको ठुलो लाईन संचालन गरेका छन ।
यी तस्कर समूहले गणबाट खटिएको घुमुवा टोली र सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीका डिएसपी लोकनाथ उप्रेतीको समन्वयमा तस्करी गरिरहेका छन ।
स्थानीयका अनुसार, बैलाको मुख्य पेशा नै तस्करी हो।
यिनै तस्करीको अबैध कमाइबाट बैलाले वीरगंज, पोखरिया लगायत ठाउँमा घरजग्गा सम्पत्ति आर्जन गरेकको स्थानियहरुले बताएकाछन्।

त्यस्तै, सबैठवा नाकाबाट सशस्त्र प्रहरीले सख्खरको तस्करीको लाईन बढेको छ । सख्खर र माछा तस्करी गर्ने एउटै ग्रुप हो ।
सशस्त्रका एसपी भट्ट र लहावरथकरीका डिएसपी उप्रेतीले उनिहरुसंग मासिक १ लाख ६० हजार रुपैया बुझेर तस्करीको लाईन दिएको स्रोतले जनाएको छ ।
सबैठवाको नाका हुदै रातीको समयमा सख्खर लोड ट्रेक्टर र माछा लोड पिकअप दैनिक सबैठवा स्थित नेपाल भारतको दशगाजामा ल्यायेर नेपाली गाडीमा लोड गर्ने गरेको स्थानियहरुले बताएका छन ।

जन स्वास्थ्यमा खेलबाड, विषाक्त भारतीय माछा तस्करी

सबैठवा नाकाबाट भारतीय माछा हप्तामा १०र१२ पिकअप पिकअपमा लोड गरि तस्करीको माध्यमले नेपालतर्फ भित्रियाउने गरेको खबर प्राप्त भएको छ । भारतबाट आयातित माछा क्वारेनटाइन जाँच नै नभई नेपाल भित्रिरहेका छन् । मरेका माछालाई कुहिन नदिन फर्मालिन नामको विषाक्त रसायनको प्रयोग हुन्छ । यसले मानव स्वास्थ्यलाई प्रतिकुल असर पु¥याउन सक्छ । विशेष गरेर भारतको आन्ध्र प्रदेशबाट नेपालमा माछा आयात हुन्छ । दक्षिणी भारतमा मारिएका माछा नेपाली नाकासम्म ल्याउन झन्डै ४र५ दिन लाग्छ । त्यसैले माछालाई कुहिन नदिन त्यसमा फर्मालिन प्रयोग गरिएको हुन्छ । नेपाल आइसकेपछि पनि व्यापारीहरूले यसलाई ताजै देखाउन फर्मालिनको थप प्रयोग गर्छन् । ‘फर्मालिन’ भनिने केमिकल हालिएको माछा भारतबाट क्वारेन्टाइन परीक्षणबिना भित्रिने यस्ता माछा रासायनिक र जैविक रुपमा स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन्। तर स्वास्थ्यको लागि घातक भएपनि आफ्ना पकेट गरम गर्न प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीका डिएसपी लोकनाथ उप्रेतीकाले नेपाली जनताको स्वास्थ्यसंग खेलवाड गरिरहेका छन ।


भारतको भेलाही बजारसँग जोडिएको प्रसौनीभाठा नाकाबाट गम्हरिया निवासी आलम र फुलकवल निवासी अशोक साहको समूहले कपडा तस्करीको ठूलो कारोबार संचालन गर्दै आएका छन्। उनीहरूले भेलाहीबाट ६ वटा मोटरसाइकलमा कपडा लोड गरी डकैला चौकसम्म पुर्‍याउने र त्यहाँबाट जितपुरका प्रदीप साह , वीरगञ्जका चर्चित तस्कर राजकुमार र कपडाको ठुलो तस्कर सरोज श्रीवास्तव लगायतको समूहले जितपुरसम्म पठाउने गरेको पाइएको छ।
यस समूहका मुख्य नायक राजकुमार यादव रहेका छन् र उनको नाममा प्रहरीमा लाइन पनि रहेको स्रोत दाबी छ।

त्यसैगरी, प्रसौनीभाठा नाकाबाट रामाशंकर साह, राजकुमार यादव, लखनपुरका रमेश र गर्दौल निवासी शहनी थरका तस्करसहित पाँच जनाको समूहले चकलेट, कस्टमेटिक, हार्डवेयर, पाउडर दूध, चिनी, किराना सामान, काजु–किसमिसजस्ता महँगा सामग्री नेपाल भित्र्याइरहेका छन्।

अजय, जितेन्द्र, प्रकाश, रबिन्द्र गुप्ता, सरफदेव समूह, अब्दुल, रबिन्द्र साह, हरिनारायण, विनय साह, प्रकाश साह, सुनिल, मनोज, इन्द्रजित र अनिल लगायतका व्यक्तिहरू किराना, कपडा, कस्टमेटिक, हार्डवेयर, सुर्तीजन्य सामान, जुत्ता–चप्पल लगायतको तस्करीमा खुलेआम संलग्न रहेको पाइएको छ।

पछिल्लो समयमा बनेको सरकार र यसका उदेश्य माथी पर्सा लगायतका देशका सिमा नाकामा हुने गरेका खुलेआम तस्करीले मुलुकको सुशासनमाथि राम्रैसँग व्यग्य गरेको छ । भष्टाचार नियन्त्रण र सुशासन कायम गर्न बनेको पछिल्लो सरकार पनि सानालाई एैन र ठुलालाई चैन भन्ने विषयबाट अछुरतो रहन भने सकेको छैन ।