मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास चल्दै, यात्रु दुई रातसम्म सडकमै अलपत्र

मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास चल्दै, यात्रु दुई रातसम्म सडकमै अलपत्र

न्यूजस्टोरी

काठमाडौं, ५ असोज । अस्ति शुक्रवार बेलुकीदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अझै खुलेको छैन । मुग्लिन नजिकै पर्ने तुईन खोलामा फराकिलो पुल बनाउन पहाड काटेको ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

अस्ति खसेको पहिरो पन्छाउन नभ्याउँदै हिजो बिहान फेरि अर्को ठूलो पहिरो खसेको छ । लगातार पहिरो खसेका कारण सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक खुल्न नसक्दा अस्ति बेलुकीदेखि नै गाडी सडकमै रोकिएका छन् । गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म सडकमै अलपत्र परेका छन् ।

कोही गाडीमै र कोही सडकमै सुतेका छन् । धेरै यात्रु भोकै बस्न बाध्य छन् । आज उज्यालो हुनेबित्तिकै सडक खुलाउने प्रयास शुरु भएको मुग्लिन प्रहरीले जनाएको छ । तर पहिरो ठूलो भएकाले खुल्न समय लाग्नेछ ।

सडक डिभिजन कार्यालय भरतपुरले सकेसम्म वैकल्पिक बाटोको प्रयोग गर्न र लेन अनुशासन पालना गर्न आग्रह गरेको छ । कार्यालयका अनुसार मुग्लिन सडकको विकल्पमा नौबिसे–दामन–हेटौंडा र कालिगण्डकी करिडोरको मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न सकिनेछ ।