काठमाडौं, २५ साउन । गएको असार २३ गते रसुवामा अविरल वर्षा तथा बाढीपहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँबराबर पुगेको छ ।
नेपाल बिमा प्राधिकरणका अनुसार, यही साउन २२ गतेसम्म कुल बिमा दाबी ७८ पुगेको छ । त्यसमा सम्पत्ति बिमा ६, सामुद्रिक बिमा नौ, इन्जिनियरिङ तथा ठेकेदार जोखिम पाँच, मोटर बिमा (निजी) १६ र मोटर बिमा (सार्वजनिक) ४२ दाबी परेको छ ।
प्राधिकरणका अनुसार, हिमालयन एभरेस्टमा ५५ करोड, शिखर इन्स्यारेन्स कम्पनीमा १६ करोड ९६ लाख ३० हजार, नेपाल इन्स्यारेन्स कम्पनीमा आठ करोड ७३ लाख, सानिमा जीआईसीमा ६ करोड ८४ लाख ८२ हजार रुपैयाँबराबरको बिमा दाबी गरिएको छ ।
प्राधिकरणका अनुसार, नेको इन्स्योरेन्समा पाँच करोड ६७ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा दुई करोड ६५ लाख, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा ९१ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा ७६ लाख ७० हजार, एनएलजी इन्स्योरेन्स कम्पनीमा ४७ लाख, सिद्धार्थ प्रिमियरमा ३१ लाख र प्रभु इन्स्योरेन्समा २८ लाख रुपैयाँबराबरको बिमा दाबी गरिएको छ ।
लेहेन्दे खोलामा आएको बाढीका कारण नेपाल–चीन सीमास्थित मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरी राखिएका सवारीसाधन बगाएको थियो । रसुवागढी हाइड्रोपावरलगायत संरचनामा समेत बाढीले क्षति पुगेको थियो ।


प्रतिक्रिया