काठमाडौं, ३ साउन । नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज शनिबार पनि जारी रहने भएको छ।
हिजो शुक्रबारदेखि सुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहान ११ बजेदेखि बस्ने कार्यक्रम छ।
बैठकमा उपाध्यक्ष विष्णु पौडेलद्वारा प्रस्तुत गरिएको विधान संशोधन प्रस्ताव र सचिवालयको निर्णयमाथि पोलिटब्युरो सदस्यहरू आ–आफ्ना धारणा व्यक्त गरिरहेका छन्।
शुक्रबारको बैठकमा कर्ण थापा, काशीनाथ अधिकारी, शेरधन राई, लालबाबु पण्डित, राजन भट्टराई, किरण गुरूङ र खगराज अधिकारीले आफ्ना विचार राखेका थिए। बाँकी सदस्यहरूले आज धारणा राख्ने कार्यक्रम रहेको छ।
एमालेको पोलिटब्युरोमा हाल ९९ जना सदस्य छन्। सचिवालय र पोलिटब्युरो बैठकमा छलफलपछि संशोधन प्रस्ताव आगामी केन्द्रीय कमिटी बैठकमा पेश गरिनेछ।
पार्टीले आगामी भदौ २० देखि २२ गतेसम्म विधान अधिवेशन आयोजना गर्ने तयारी गरेको छ।


प्रतिक्रिया