मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी प्रदेशमा बर्खे धान बालीको घट्दै

गण्डकी प्रदेशमा बर्खे धान बालीको घट्दै

न्यूजस्टोरी

कास्की, २१ असार । गण्डकी प्रदेशमा बर्खे धान बालीको क्षेत्रफल घट्दै गएको पाइएको छ । आर्थिक वर्ष २०७९/८० मा ९७ हजार ७६९ हेक्टरमा धानखेती भएकामा गएको वर्ष रोपाइँको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टर पुगेको हो । यस वर्ष भने ९४ हजार १८२ हेक्टरमा धान रोपाइँ हुने प्रदेश कृषि विकास निर्देशनालयको अनुमान छ ।

घरघडेरीले उब्जाउ क्षेत्र नासिनु, जग्गाको खण्डीकरण, जग्गा बाँझो रहनु, तीव्र बस्ती विस्तारजस्ता कारणले धानखेती घट्दै गएको निर्देशनालयले जनाएको छ । रोपाइँको क्षेत्रफल घटे पनि धानको उत्पादकत्व भने बढेको पाइएको छ । दुई वर्षअघि प्रतिहेक्टर तीन दशमलव छ मेट्रिक टन धान उत्पादन भएकामा गएको वर्ष बढेर प्रतिहेक्टर तीन दशमलव ७३ मेट्रिक टन धान उत्पादन भएको थियो ।

अनुकूल हावापानी, रासायनिक मलको उपलब्धता, धानमा प्रकोपजन्य रोग नलाग्नु, सिँचाइ सुविधा, उन्नत बिउबिजन आदि कारणले धानको उत्पादकत्व बढ्ने गरेको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले बताउनुभयो । मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा बर्खे र चैतै धान खेती हुँदै आएको छ ।

प्रदेशको कुल चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झन्डै एक लाख हेक्टरमा धानखेती हुने गरेको छ । नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान बाली बढी लगाइन्छ ।

गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् । पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ ।

गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ । यही असार १५ सम्म प्रदेशमा २६ हजार पाँच सय ६२ हेक्टरमा रोपाइँ भइसकेको छ । यो २८ दशमलव २० प्रतिशत हो । सबैभन्दा बढी बागलुङमा ४५ प्रतिशत, कास्कीमा ४३, म्याग्दीमा ३४, लमजुङमा ३४, नवलपुरमा २९, पर्वतमा २५, तनहुँमा १८, स्याङ्जामा १८ र गोरखामा १० प्रतिशत रोपाइँ भएको हो । वर्षा कम हुँदा र पानीका मूल नफुटेका कारण अपेक्षित रूपमा रोपाइँ हुन नसकेको निर्देशनालयका कृषि अर्थ विज्ञ पौडेलले बताउनुभयो ।

‘यही असार १५ गतेसम्मको अवस्था हेर्दा गएको वर्षको तुलनामा कम रोपाइँ भएको देखिन्छ’, उहाँले भन्नुभयो, ‘बाह्रैमास सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ भइसकेको छ, आकाशे पानीमा निर्भर हुनुपर्ने ठाउँमा अपेक्षित रूपमा वर्षा नहुँदा रोपाइँ ढिलो भइरहेको छ ।’ वर्षाले साथ दिएमा असार अन्त्यसम्ममा धेरैजसो क्षेत्रको रोपाइँ सकिने उहाँको भनाइ छ । गण्डकीमा असार र चैतमा गरी दुई याममा रोपाइँ हुने गरेको छ ।