मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका वन मन्त्री रामेश्वर चौधरी बर्खास्त

सुदूरपश्चिमका वन मन्त्री रामेश्वर चौधरी बर्खास्त

न्यूजस्टोरी

काठमाडौं, २० असार । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गर्नुभएको छ । चौधरी बर्खास्त भएसँगै नागरिक उन्मुक्ति पार्टी (नाउपा) आन्तरिक छलफलमा जुटेको छ ।

नाउपाले सङ्घ र प्रदेश सरकारबाट बाहिरिने चेतावनी दिएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टीका संरक्षक रेशम चौधरीले सरकारबाट समर्थन फिर्ता लिने बताउनुभएको छ । सुदूरपश्चिममा मन्त्री चौधरीलाई राजीनामा गर्न दिइएको निर्देशन अवज्ञा गरेपछि मुख्यमन्त्री शाहले हिजो बर्खास्त गर्नुभएको हो ।

बजेट निर्माणका क्रममा मन्त्री चौधरीले वित्तीय अनुशासन कायम नगरेको, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा कार्यकारी निर्देशक नियुक्त गर्दा कुनै जानकारी नगरेको लगायतका आरोपसहित राजीनामा मागिएको थियो ।

सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात जना सांसद छन् । नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री शाह अल्पमतमा पर्नुहुने छैन । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ ।