मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय सभाको १९ सिटका लागि भएको चुनावमा सत्ता गठबन्धनका १८ जना उम्मेदवार विजयी कोशीमा एमालेकी कोइराला निर्वाचित

राष्ट्रिय सभाको १९ सिटका लागि भएको चुनावमा सत्ता गठबन्धनका १८ जना उम्मेदवार विजयी कोशीमा एमालेकी कोइराला निर्वाचित

न्यूजस्टोरी

काठमाण्डौ – राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको चुनावको मतपरिणाम सार्वजनिक भएको छ । १९ सिटका लागि भएको चुनावमा कोशीमा एक जनाबाहेक सबैतिर अर्थात् १८ जना सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी हुनुभयो । तर कोशीमै गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौलाले भने राप्रपाका उद्धव पौडेललाई हराउनुभयो । सिटौला पौडेलभन्दा ७ सय ३० धेरै मतभारले विजयी हुनुभएको हो । तर गठबन्धनकै उम्मेदवारले भोट नदिँदा माओवादीकी चम्पा कार्कीलाई एमालेकी उम्मेदवार कार्कीले पराजित गर्नुभयो । कोशीमा सत्ता गठबन्धनकै मतदाताले एमाले र राप्रपालाई मत दिएको पुष्टि भएको छ । यस्तै मधेस प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित हुनुभएको छ ।

बाग्मतीमा सत्ता गठबन्धनकै चार जना उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यतर्फ कांग्रेसकै जितजङ्ग बस्नेत, अपाङ्गतातर्फ माओवादीका कृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी हुनुभएको छ । यस्तै गण्डकी प्रदेशमा पनि गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा नेकपा माओवादीबाट मनरुपा शर्मा र अपाङ्गता क्लस्टरमा नेपाली कांग्रेसका पदम परियार निर्वाचित हुनुभएको हो । लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी विजयी हुनुभयो । यस्तै कर्णालीमा पनि गठबन्धनका तीनै जना उम्मेदवार विजयी भए ।

कर्णालीमा अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल र दलिततर्फ माओवादी केन्द्रका विष्णुबहादुर विक निर्वाचित भएका छन् । सुदूरपश्चिममा पनि गठबन्धनकै तीन जना उम्मेदवार विजयी भए । महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतातर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी हुनुभएको हो । निर्वाचन आयोगले नतिजाको औपचारिक घोषणा भने गरेको छैन ।

सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा बिहान ९ बजे शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । सातै प्रदेशमा प्रदेश सभाका ५ सय ४९ जना प्रदेश सभा सदस्य रहेकामा ५ सय ४६ जनाले मत हालेका छन् । यस्तै पालिकाका प्रमुख र उपप्रमुख गरी १४ सय ९७ जना मतदाता रहेकामा १४ सय ८६ जनाले मत हालेका निर्वाचन आयोगले जनाएको छ । चर्चामा रहेका तीन जना स्वतन्त्र मेयरहरूले मतदान गरेनन् । काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाह, धनगढी उपमहानगरका गोपी हमाल र धरानका मेयर हर्क साम्पाङ राई मतदानमा सहभागी हुनुभएन । आउँदो फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने भएपछि आज चुनाव भएको हो । आज निर्वाचित सदस्यहरूको कार्यकाल ६ वर्षको रहनेछ ।