काठमाडौं, ३० जेष्ठ । गण्डकी, बागमती र लुम्बिनी प्रदेशका केही ठाउँहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट, लमजुङ, स्याङ्जा, बाँके, बर्दिया, डडेलधुरा र आसपासका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भइरहेको छ । पानी पार्ने प्रणाली उत्तरतर्फ सरिरहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
पछिल्लो एक घण्टामा सबैभन्दा धेरै स्याङ्जामा ४८ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै नुवाकोटमा २७ दशमलव ६, बाँकेमा २२ दशमलव ४ र डडेलधुरामा २१ दशमलव ८ मिलिमिटर पानी परेको छ । बाढी पूर्वानुमान महाशाखाले स्याङ्जामा रहेका स–साना खोलाहरुमा आकस्मिक बाढी समेत हुन सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तै लमजुङमा पनि आज बिहान ठूलो पानी परेको छ । लमजुङको राइनास्टार क्षेत्र आसपासका स–साना नदीमा जलसतह केही बढ्ने भएकाले आसपासका क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ ।
आज दिउँसो पनि सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एकरदुई ठाउँमा भारी वर्षाको पनि सम्भावना छ । २४ घण्टाभित्र ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई महाशाखाले भारी वर्षा भन्ने गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार लामो समयसम्म कोशीमा अड्किएको मनसुन हिजोदेखि कोशीसँगै मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा प्रवेश गरेको छ ।


प्रतिक्रिया